• इटहरी । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राबारे विद्यार्थीलाई सचेत गराउने उद्देश्यले इटहरी नमुना कलेजमा ‘सुरक्षित सडक, सुरक्षित जीवन’ विषयक ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ।
    इटहरी नमुना कलेजको आईएनसी हलमा आयोजित कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी वरिष्ठ नायव निरीक्षक एकराज भण्डारी र प्रहरी जवान कुशल विश्वकर्माले सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी प्रस्तुतिकरण गरेका थिए।
    प्रस्तुतिकरणका क्रममा विद्यार्थीलाई सडकमा हिँड्दा र सवारीसाधन प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, ट्राफिक संकेतको अर्थ तथा नियम पालना नगर्दा हुन सक्ने जोखिमबारे जानकारी गराइएको थियो। विशेषगरी मोटरसाइकल तथा स्कुटर चलाउँदा अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्न, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न, ट्राफिक संकेत तथा बत्तीको पालना गर्न र सुरक्षित गतिमा सवारी सञ्चालन गर्न आग्रह गरिएको थियो।
    कार्यक्रममा सडकमा पैदलयात्रा गर्दा जेब्रा क्रसिङ तथा सुरक्षित स्थानको प्रयोग गर्नुपर्ने, सवारी चालकले लेन अनुशासन कायम गर्नुपर्ने तथा ट्राफिक नियमलाई बाध्यताका रूपमा नभई आफ्नै जीवन सुरक्षासँग जोडेर पालना गर्नुपर्ने विषयमा समेत जानकारी दिइएको थियो।
    इटहरी नमुना कलेजका कक्षा ११ र १२ का कोअर्डिनेटर नितेश गौतमले कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई सामाजिक विषयअन्तर्गत ट्राफिक सचेतना कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले कार्यक्रममार्फत विद्यार्थीलाई ट्राफिक नियम, सडकमा हिँड्दा अपनाउनुपर्ने सावधानी र सवारी चलाउँदा सुरक्षित यात्रा गर्ने उपायबारे व्यवहारिक ज्ञान दिने प्रयास गरिएको हो।
    गौतमले पूर्वी नेपालमा भइरहेका सडक दुर्घटना न्यूनीकरणका लागि विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताए। विद्यार्थी स्वयं ट्राफिक नियमप्रति सचेत हुनुका साथै परिवार तथा समुदायमा समेत सडक सुरक्षाको सन्देश पुर्‍याउन सक्ने भएकाले यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो।
    कार्यक्रममा ‘संकेतहरू पालना गर्नुहोस्’, ‘हेल्मेट लगाउनुहोस्’, ‘मोबाइल प्रयोग नगर्नुहोस्’, ‘सुरक्षित रूपमा सवारी चलाउनुहोस्’ र ‘ट्राफिक नियमहरू पालना गर्नुहोस्’ भन्ने सन्देशमार्फत सुरक्षित यात्रा र सुखद जीवनका लागि सडक सुरक्षा सचेतनाको आवश्यकता औँल्याइएको थियो।

4565