• काठमाडौँ । हालै आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई राहत प्रदान गर्न सुविसुले सेवा अवधि थप गरेको छ। बाढीका कारण सेवा प्रभावित भई सोही अवधिमा जडानको म्याद समाप्त भएका ग्राहकलाई सुविसुले थप ७ दिनको सेवा अवधि उपलब्ध गराउने जनाएको छ।

    भाद्र १० गते आएको भीषण बाढीपछि विशेषगरी भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो क्षति भएको थियो। बाढीका कारण बट्टार, चरौंदी, चौघडा, देवीघाट, धादिङ, हुङ्दीखोला, खाल्टे, खानीखोला, गल्छी, धार्के र मलेखुलगायतका क्षेत्रमा सुविसुको इन्टरनेट सेवा प्रभावित भएको हो।

    सेवा पुनः सञ्चालनका लागि सुविसुले प्रभावित क्षेत्रमा आफ्ना प्राविधिक टोली परिचालन गरेको जनाएको छ। स्थानीय अवस्था तथा भौगोलिक पहुँचलाई ध्यानमा राख्दै प्राविधिक टोलीहरू सेवा यथाशीघ्र पुनः सञ्चालन गर्न निरन्तर मैदानमा खटिरहेका छन्।

    सुविसुका प्रमुख सञ्चालन अधिकृत सुबास अधिकारीले प्रभावित क्षेत्रमा सञ्जाल तथा इन्टरनेट सेवा पुनः सञ्चालनको कामलाई निरन्तरता दिइरहेको बताउनुभयो।

    उहाँले भन्नुभयो, “स्थानीय अवस्था तथा पहुँचलाई ध्यानमा राख्दै हाम्रा प्राविधिक टोलीहरू सेवा यथाशीघ्र पुनःस्थापना गर्न मैदानमा सक्रिय रूपमा खटिरहेका छन्। सेवा पुनःस्थापनासँगै मैदानमा खटिएका हाम्रा प्राविधिक टोलीहरूको सुरक्षालाई पनि उच्च प्राथमिकतामा राखिएको छ।”

    बाढीका कारण सेवा प्रभावित भएका ग्राहकको सेवा अवधि नघटोस भन्ने उद्देश्यले थप ७ दिनको सेवा अवधि उपलब्ध गराइएको सुविसुले जनाएको छ।

    प्रभावित ग्राहकले सेवा तथा पुनःस्थापनासम्बन्धी जानकारीका लागि सुविसुको ग्राहक सहायता केन्द्रमा सम्पर्क गर्न सक्नेछन्।

    ग्राहक सहायता

    📞 ०१–४२३५८८८
    📞 ९८०१२३५८८८

4565