• इटहरी । ब्रह्माकुमारी समाज सेवा प्रभागको आयोजनामा सञ्चालित विश्व बन्धुत्व रक्तदान महाअभियान अन्तर्गत इटहरीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उत्साहजनक सहभागिता जुट्दै २३९ पिन्ट रगत संकलन भएको छ ।
    ब्रह्माकुमारी ईश्वरीय विद्यालयकी पूर्व मुख्य प्रशासिका राजयोगिनी प्रकाशमणि दादीको १९औँ पुण्य स्मृति दिवसको अवसर पारेर देशभरका विभिन्न ब्रह्माकुमारी सेवा केन्द्रमार्फत रक्तदान कार्यक्रम सञ्चालन हुँदै आएको छ । सोही अभियानअन्तर्गत शनिबार इटहरीस्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
    रक्तदान कार्यक्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेख्य सहभागिता रहेको थियो । रगतको अभावमा उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न तथा सामाजिक सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
    कार्यक्रमसँगै ब्रह्माकुमारी युवा प्रभागले युवापुस्ता, विद्यार्थी तथा सर्वसाधारणलाई लक्षित गर्दै ‘माइन्ड स्पा एन्ड मुड क्लिनिक’ कार्यक्रमसमेत सञ्चालन गरेको थियो । कार्यक्रममा तनाव व्यवस्थापन, मानसिक विश्राम, सकारात्मक सोच, आत्मचिन्तन तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गरिएको थियो । सहभागीहरूले कार्यक्रमले दैनिक जीवनमा देखिने तनाव व्यवस्थापन गर्न तथा सकारात्मक सोच विकास गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका थिए ।
    पूर्वेली क्लबको सहआयोजना तथा विभिन्न संघसंस्थाको समन्वयमा सम्पन्न कार्यक्रम ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीकी मुख्य सञ्चालिका शारदा दिदीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा भएको थियो ।
    पूर्वेली क्लबका अध्यक्ष झलक बनको संयोजनमा भउको कार्यक्रममा विभिन्न संघ,सस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र धरानको प्राविधिक सहयोगमा सञ्चालन गरिएको रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई थप मजबुत बनाएको आयोजकको भनाइ छ ।

4565