• इटहरी । ‘रक्तदान जीवनदान’ भन्ने सन्देशसहित ब्रह्माकुमारीको समाज सेवा प्रभागले ‘विश्व बन्धुत्व रक्तदान महाअभियान’ सञ्चालन गर्ने भएको छ। राजयोगिनी दादी प्रकाशमणिज्यूको १९औँ पुण्यतिथिको अवसर पारेर आयोजना गर्न लागिएको अभियानअन्तर्गत इटहरी र तरहरामा बृहत् रक्तदान कार्यक्रम हुने भएको हो।
    सोमबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले भदौ ६ गते शनिबार इटहरी केन्द्र र भदौ ७ गते आइतबार तरहरा केन्द्रमा बिहान ८ बजेदेखि रक्तदान कार्यक्रम आयोजना गरिने जानकारी दिएको छ। अभियानअन्तर्गत नेपाल, भारत, भुटानलगायत विभिन्न देशका ब्रह्माकुमारी केन्द्रहरूमा समेत एकैसाथ रक्तदान कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
    इटहरीमा हुने रक्तदान कार्यक्रम पूर्वेली क्लबको सहआयोजनामा सञ्चालन हुनेछ। रक्तदानसँगै ज्ञान, योग तथा ध्यानका गतिविधि सञ्चालन गरी रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
    यसै अवसरमा ब्रह्माकुमारी युवा प्रभागले युवापुस्ता, विद्यार्थी तथा सर्वसाधारणलाई लक्षित गर्दै ‘माइन्ड स्पा एन्ड मुड क्लिनिक’ कार्यक्रमसमेत सञ्चालन गर्ने भएको छ। कार्यक्रममा तनाव व्यवस्थापन, मानसिक विश्राम, सकारात्मक सोच तथा आत्मचिन्तनसम्बन्धी विभिन्न गतिविधि गराइने सुरज भाइजीले जानकारी गराए ।
    पत्रकार सम्मेलनमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी मुख्य सञ्चालिका शारदा दिदीले रक्तदानले अस्पतालमा उपचाररत बिरामीहरुको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने बताइन्। उनले रक्तदानलाई केवल सामाजिक सेवा नभई मानवीय जिम्मेवारीका रूपमा लिन आग्रह गर्दै अभियानमा सहभागी हुन सबैलाई आह्वान गरिन्।
    नेपाल रेडक्रस सोसाइटीका सभापति दिनेश भट्टराईले शरीरमा खेर जाने रगत दान गरेर कसैको जीवन बचाउन सकिने भएकाले स्वस्थ व्यक्तिले नियमित रक्तदान गर्नुपर्ने बताए। उनले इटहरीमै रक्तसंकलन केन्द्र स्थापना गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै आवश्यक सरकारी सहयोग प्राप्त भए स्थानीयस्तरमै रगत संकलनको व्यवस्था गर्न सकिने बताए।
    ब्रह्माकुमारी समाज सेवा प्रभागका अनुसार गत वर्षको अभियानमा २५२ पिन्ट रगत संकलन भएको थियो। यस वर्ष रक्तदानलाई अझ व्यापक बनाउँदै नियमित सामाजिक सेवाका रूपमा विकास गर्ने र रक्त अभावका कारण हुने समस्या न्यूनीकरणमा सहयोग पु¥याउने लक्ष्य राखिएको छ।
    पत्रकार सम्मेलनमा पूर्वेली क्लबका अध्यक्ष झलक बन, रेडक्रसका कार्यालय प्रमुख राम आचार्य, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र तरहराकी सञ्चालिका र्सिमला दिदी, एभिन्युज टेलिभिजनका प्रदेश प्रमुख सचिन पोख्रेल लगायतको सहभागिता रहेको थियो।

4565