• इटहरी । सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघ, इटहरीले इटहरी–२ स्थित माया घर नेपालमा आश्रित ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिहरूलाई एक छाक भोजन गराएको छ। संघले आफ्नो नियमित सामाजिक सेवामूलक कार्यक्रमअन्तर्गत माया घरमा आश्रित १२६ जनालाई भोजन गराएको हो।

    संघका केन्द्रीय सदस्य राजु गौतमका अनुसार समाजप्रति आफ्नो दायित्व निर्वाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। निवृत्त कर्मचारीहरू समाजका अनुभवसम्पन्न नागरिक भएकाले सेवाबाट अवकाश पाएपछि पनि सामाजिक कार्यमा सक्रिय रहनुपर्ने सोचका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको सदस्य गौतमले बताए। आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा मानवीय सेवासँग सम्बन्धित गतिविधिमा संघको सहभागिता रहने उनको भनाइ थियो।

    संघकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक देबिमाया रिमालको नेतृत्वमा सम्पन्न कार्यक्रम संघका अध्यक्ष कृष्ण नेपालको अध्यक्षतामा भएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै दुःख र अभावमा रहेका नागरिकसँग सुख–दुःख साट्नु नै संस्थाको प्रमुख उद्देश्य रहेको बताए। उनले सामाजिक सद्भाव, सहकार्य र मानवीय सेवाको भावनालाई अझ सशक्त बनाउन यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।

    त्यसैगरी माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले आश्रितहरूलाई भोजन गराउनु मात्र नभई उनीहरूप्रति अपनत्व र आत्मीयता प्रकट गर्नु अत्यन्तै महत्वपूर्ण कार्य भएको बताइन्। उनले माया घरका बासिन्दाप्रति देखाएको सहयोग र संवेदनशीलताका लागि नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघलाई धन्यवाद दिँदै यस्ता सहयोगले आश्रितहरूको मनोबल बढ्ने विश्वास व्यक्त गरिन्।

    कार्यक्रममा संघका केन्द्रीय सदस्य हेमन्त गौतम र नारायण गौतमसहित नगरका १६ जना सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले आश्रितहरूसँग आत्मीय भेटघाट गर्दै भोजन वितरण गरेका थिए। सामाजिक सेवा र मानवीय सहयोगको उत्कृष्ट उदाहरण बनेको यस कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

4565