• इटहरी । सुनसरीको इटहरी–४ स्थित विश्व आदर्श कलेजले कक्षा ११ व्यवस्थापन तथा विज्ञान संकायमा अध्ययनका लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम–२०८३ भव्य रूपमा सम्पन्न गरेको छ।
    दुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा व्यवस्थापन तथा विज्ञान संकायतर्फ अध्ययनरत करिब ९ सय विद्यार्थीको सहभागिता रहेको थियो। विद्यार्थीहरूको सहजता र प्रभावकारी सहभागितालाई ध्यानमा राख्दै कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको कलेजले जनाएको छ। अभिमुखीकरणको मुख्य उद्देश्य विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, अध्ययन प्रणाली, अनुशासन, अवसर तथा भविष्यका सम्भावनाबारे जानकारी गराउनु रहेको थियो।
    कार्यक्रमका प्रमुख वक्ता मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीले मानवता, सेवा, नैतिकता र सामाजिक उत्तरदायित्वका विषयमा प्रेरणादायी मन्तव्य व्यक्त गर्दै युवाहरूले अध्ययनसँगै समाजप्रति पनि उत्तरदायी बन्नुपर्ने धारणा राखे। उनले सकारात्मक सोच, अनुशासन र सेवाभावले जीवनलाई सफलताको मार्गमा अघि बढाउने बताए।
    बाइट ः
    त्यसैगरी, कम्प्युटर एसोसिएसन नेपाल (क्यान) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले कृत्रिम बौद्धिकता (एआई) को वर्तमान प्रयोग, अवसर र चुनौतीबारे जानकारीमूलक प्रस्तुति दिएका थिए। उनले प्रविधिको तीव्र विकाससँगै एआईले शिक्षा, व्यवसाय तथा रोजगारीका क्षेत्रमा ल्याइरहेको परिवर्तनबारे चर्चा गर्दै विद्यार्थीहरूलाई प्रविधिमैत्री र नवप्रवर्तनशील बन्न आग्रह गरे ।
    सो अवसरमा एसईई–२०८२ मा उत्कृष्ट नतिजा हासिल गरी विश्व आदर्श कलेजमा भर्ना भएका विद्यार्थीहरुलाई विशेष सम्मान गरिएको थियो। साथै, विश्व आदर्श फेसन शो–२०८२ मा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूले आकर्षक फेसन शो प्रस्तुत गरेका थिए।
    कार्यक्रममा बोल्दै कलेजका प्राचार्य गणेशकुमार दुलालले कलेजलाई प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यसहित विभिन्न योजना तथा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। उनले गुणस्तरीय शिक्षा, प्रविधिमैत्री शिक्षण पद्धति, अनुशासन तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा कलेज केन्द्रित रहेको बताए।
    बाइट ः
    विश्व आदर्श एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरेले विद्यार्थी जीवनमा लक्ष्य, मेहनत, अनुशासन र सकारात्मक सोचको महत्वबारे प्रकाश पारे। कार्यक्रममा गायक पृतम आचार्य तथा कलेजका विद्यार्थीहरूको सांगीतिक एवं नृत्य प्रस्तुतिले थप रौनकता थपेको थियो।
    कलेजका इभेन्ट कोअर्डिनेटर सुनिल तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा सञ्चालक समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

4565