• इटहरी । पिसजोन आवासीय माध्यमिक विद्यालयले आफ्नो ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न शैक्षिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ ।
    कार्यक्रमको आकर्षणका रूपमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका शैक्षिक तथा विज्ञान प्रदर्शनीका स्टलहरू प्रर्दशन गरिएको थियो।
    ती स्टलमार्फत विद्यार्थीहरूले आफ्ना सिर्जनशीलता, अनुसन्धान क्षमता तथा प्रयोगात्मक ज्ञान प्रदर्शन गरेका थिए। प्रदर्शनी अवलोकन गर्दै अभिभावक तथा अतिथिहरूले विद्यार्थीहरूको प्रतिभाको प्रशंसा गरेका थिए।
    यसैगरी कार्यक्रममा विद्यार्थीहरूले विभिन्न जातजातिका परम्परागत भेषभूषामा सजिएर सांस्कृतिक प्रस्तुति दिएका थिए।

    विद्यालयले कला, संस्कृति र परम्पराको संरक्षणमा जोड दिँदै विद्यार्थीहरूमा रहेको सिर्जनात्मक प्रतिभा उजागर गर्ने अवसर प्रदान गरेको थियो। कार्यक्रममा नृत्य, गायन, नाटक लगायतका विविध प्रस्तुतिहरूले कार्यक्रमलाई अझ मनोरञ्जनात्मक बनाउँदै अभिभावक तथा उपस्थित दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो।
    सोही अवसरमा विद्यालयका पूर्व विद्यार्थी डा. प्रताप रोय र डा. सुभास बस्नेतलाई विशेष सम्मान गरिएको थियो। उनीहरूको शैक्षिक तथा सामाजिक योगदानको कदर गर्दै विद्यालयले सम्मान गरेको जनाएको छ ।

    कार्यक्रममा फेसन सो प्रतियोगिता समेत आयोजना गरिएको थियो। साथै शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।

    विद्यालयका सह प्रधानध्यपक राहुल रायको संयोजनमा भएको कायृक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी प्रसाद धितालको अध्यक्षता तथा हिसान केन्द्रीय उपाध्यक्ष मुकुन्द घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विश्व आदर्श एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरे, विश्व आदर्श कलेजका प्राचार्य गणेश कुमार दुलाल, विद्यालयका सञ्चालक सन्तबहादुर डुम्जन,प्रधानध्यपक केसब भट्टराई, लगायत अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा र समग्र व्यक्तित्व विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको थियो।

4565