-
इटहरी । सुनसरीको इटहरीमा अवस्थित श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम पछिल्लो समय धार्मिक पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ ।
धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्य र संरचनात्मक आकर्षणका कारण मुक्तिधाम क्षेत्रमा दैनिक उल्लेख्य संख्यामा भक्तजन तथा पर्यटकहरूको आगमन हुने गरेको हो ।
पूर्वी नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत श्रद्धालुहरू मुक्तिधाम आउने गरेको वृहत्तर मुक्तिधाम विकास समितिका अध्यक्ष हेमप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार श्रीकृष्ण प्रणामी मन्दिर परिसर भित्र मंगल राधिका सदानन्द प्रणामी अस्पताल, धार्मिक संग्रहालय तथा नजिकै अवस्थित बूढी गंगाजमुनामा रहेको मुक्ति घाटका कारण मुक्तिधाम धार्मिक तथा सामाजिक सेवाको केन्द्रका रूपमा विकास हुँदै गएको छ ।
मुक्तिधामका संस्थापक ब्रह्मलिन मंगलदास महाराजको संकल्पअनुसार स्थापना गरिएको यस क्षेत्रलाई अझ व्यवस्थित र आकर्षक धार्मिक पर्यटकीय स्थल बनाउने लक्ष्यका साथ विभिन्न संरचना निर्माणको काम भइरहेको छ ।
आगामी दिनमा सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूका देवी–देवताहरूको झाँकी, नेपालका प्रमुख धार्मिक मन्दिरहरूको प्रतिकात्मक संरचना निर्माण गरी मुक्तिधामलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक गन्तव्य बनाउने योजना रहेको अध्यक्ष घिमिरेले बताए ।मन्दिर परिसरभित्र रहेको धार्मिक संग्रहालयमा मात्र दैनिक करिब दुई सय जना बढीले टिकट काटेर अवलोकन गर्ने गरेका छन्, जसले यहाँको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ ।

धार्मिक पर्यटनका रूपमा विकसित हुँदै गएको मुक्तिधाम क्षेत्रमा हिन्दू धर्मावलम्बी मात्र नभई अन्य धर्मका श्रद्धालु तथा पर्यटकहरू पनि अवलोकनका लागि आउने गरेका छन् ।
आकर्षक डिजाइन, शान्त वातावरण र बूढीगंगा नदी तटको मनमोहक दृश्यले मुक्तिधामलाई दर्शनसँगै घुमफिर र फोटो–भिडियो खिच्न चाहनेहरूका लागि समेत लोकप्रिय बन्दे गएको छ ।
धार्मिक महत्व बोकेको बूढीगंगा नदी किनारमा अवस्थित श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम पछिल्लो समय पूर्वी नेपालको एक महत्वपूर्ण धार्मिक पर्यटकीय केन्द्रका रूपमा स्थापित हुँदै गएको हो ।
News Desk 0 response सोमवार, पुस २१, २०८२
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





