• नेपाली काँग्रेसको नेता प्रकाशमान सिंहले पार्टी सभापतिले प्रधानमन्त्री बन्ने सर्तमा गरेको सत्ता बाँडफाँडको सहमतिको आलोचना गरेका छन् । सिंहले सत्तामा बसिरहने मनोविज्ञानबाट सभापति देउवाले माओवादीसँग सहमति गरेको आरोप लगाए । शनिबार पार्टी सभापतिमा आफ्नो उम्मेदवारी घोषणासहित अवधारणापत्र सार्वजनिक कार्यक्रममा उनले चितवनमा स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा मेयरमा माओवादीलाइ जिताउन सभापतिले खेलेको भूमिका, नेपाली काँग्रेसको चरम राजनीतिक विचलन र पार्टी सभापतिको सत्ता केन्द्रित राजनीतिको पराकाष्टा भनेर उल्लेख गरेका छन् ।

    पार्टी केन्द्रीय कार्यसमितिमा कुनै छलफलसम्म नगरी स्वेच्छाचारी ढङ्गबाट देउवा एक्लैले ठूलो आत्मघाती निर्णय गरेको सिंहको आरोप छ । उनले पार्टीका नेता र सभापति पार्टीको सिद्धान्त र आदर्शविपरीत काम गरेको पनि आरोप लगाएका छन् । पौडेल समूहमा साझा उम्मेदवारको तय हुन नसकेपछि प्रकाशमानले सो समूहबाट विद्रोह गरेर सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । उनको टीमबाट सुजाता कोइराला उपसभापतिको उम्मेदवार रहेकी छन् ।

4565