• काठमाडौंमा बुधबारदेखि जारी राप्रपाको एकता महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता आज हुँदैछ । बुधबार उदघाटन गरिएको राप्रपा महाधिवेशनमा प्रतिनिधिको सूचीबारे विवाद भएपछि निर्वाचन प्रक्रिया बिहीबार साँझ मात्र सुरु भएको हो । जसले गर्दा मतदानका लागि तोकिएको मिति आज उम्मेदवारी दर्ता र चुनाव भोली मात्रै हुने भएको हो ।

    महाधिवेशन प्रतिनिधिको विवादका कारण निर्वाचन कमिटीले तोकिएको मितिमा चुनाव गराउन नसक्दा महाधिवेशन एक दिन पर सरेको हो । निर्वाचन समितिले बिहीबार राति ४ हजार ४ सय ७१ जना महाधिवेशन प्रतिनिधिको सूची सार्वजनिक गरेको छ । त्यसमा थप ५ प्रतिशत प्रतिनिधि मनोनयन अध्यक्षत्रयले गरेका छन् । साँढे एक बजेसम्म उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरेको छ ।

    उम्मेदवार माथि दावी विरोध र उम्मेदवारी फिताका लागि अपरान्ह पाँच बजेसम्मको समय दिइएको छ । मतदान भने शनिबारबाट शुरु हुने जनाइएको छ । राप्रपा अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन् । थापा समूहबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की उम्मेदवार रहेका छन् । यस्तै महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीको नाम टुंगो लागेको छ ।

    यसैगरी लिङ्देन समूहबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठको नाम टुंगो लागेको छ । महामन्त्रीमा डा.धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाले उम्मेदवारी दिने भएका छन् । उपाध्यक्षमा विक्रम पाण्डेको नाम भने दुबै पक्षले समूहमा राखेका छन् । महाधिवेशनले राप्रपाको १ सय ९४ जना केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

4565