• कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकामा स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । कोरोना भाइरस संक्रमण व्यवस्थापन समिति ‘सीसीएमसीसी’ को सिफारिसपछि सतकर्ता अपनाउन थालिएको हो ।

    सीसीएमसीसीको सुझाव अनुसार अहिले विभिन्न देशबाट नेपाल आउने नागरिकको स्वास्थ्य परिक्षण तथा व्यक्तिगत विवरण संकलन भैरहेको गृह मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल र स्थल नाका हुँदै संक्रमणको जोखिम देखिएका मुलुकबाट आउने विदेशीलाई प्रवेशमा पनि कडाइ गरिएको छ ।

    नाकामा कोरोना भाइरसको लक्षण देखिएका बिरामीलाई जाँच र आवश्यक व्यक्तिलाई एक हप्ता अनिवार्य क्वारेन्टिन बस्न सरकारले निर्देशन दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सीमा जोडिएका नाकामा रहेका सहायता कक्षमार्फत छिमेकी देशबाट भित्रने व्यक्तिमा निगरानी थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘ओमिक्रोन’ संक्रमण भित्रिन नदिन सरकारले यसअघि नै दक्षिण अफ्रिकी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाइसकेको छ ।

4565