• नेकपा एमालेको शुक्रवारबाट शुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी सकिएको छ । बिहीबार एमाले विधान महाधिवेशन मुल समारोह समितिले पत्रकार सम्मेलन गर्दै विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

    शुक्रवार सवा १२ बजे ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा अध्यक्ष केपी ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन सत्रपछि बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप महासचिव विष्णु पौडेले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने छन ।

    महाधिवेशनको दोस्रो दिन असोज १६ गते समूहगत छलफल र समूह नेताबाट सुझावहरुको प्रस्तुति गरिने र तेस्रो दिन असोज १७ गते दस्तावेज प्रस्तोताहरुको समूहगत छलफलबाट आएका सुझाव एवं उठेका विषयहरूलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिने एमालेले जनाएको छ ।

    महाधिवेशनमा छ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागिता हुनेछ । प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितालाई प्राथमिकता दिएको एमालेले बताएको छ ।

4565