• नेकपा एकीकृत समाजवादीले सात उपाध्यक्षसहितको पदाधिकारी चयन गरेको छ । बिहीबार सम्पन्न सो पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टी केन्द्रीय कमिटीमा ७ उपाध्यक्ष, ३ उपमहासचिव र ४ सचिव चयन गरेको हो ।

    एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले ३५ सदस्यीय स्थायी कमिटी गठन गरिएको र ७१ सदस्यीय पोलिट्व्युरो गठन गरिएको तथा केन्द्रीय कमिटी सदस्य (पूर्ण र वैकल्पिक गरी) जम्मा ३०१ सदस्यीय गठन गरिएको खतिवडाले बताए ।

    सात जना उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथप्रसाद साह र जयन्ती राई छन् । त्यस्तै महासचिवमा डा. बेदुराम भुसाललाई चयन गरेको छ । सचिवहरुमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्रीलाई चयन गरिएको छ ।

    त्यस्तै अध्यक्ष माधवकुमार नेपालपछिको वरियातामा बरिष्ठ नेतामा झलनाथ खनाल र तेस्रो वरियातामा नेतामा मुकुन्द न्यौपानेलाई राखिएको छ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय परिषद् गठन गर्ने निर्णय गरेको छ, जसमा प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट कम्तिमा एकजना, केन्द्रीय आयोग, विभाग, जनसंगठनको समेत आवश्यक प्रतिनिधित्व हुने गरी जम्मा ७०१ सदस्यीय हुने बताइएको छ ।

    पार्टीमा अनुशासन, निर्वाचन र लेखा गरी तीन आयोग रहने र ती आयोगहरु बढीमा ३५ सदस्यीय गठन गरिने समाजवादीले जनाएको छ ।

4565