• प्रधानमन्त्री शेरबहादुर देउवाले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त मन्त्री खड्काले आजै शपथ लिइ कार्यभार सम्हालेका छन् । उनी आजै राष्ट्रसंघीय महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै अमेरिकाको न्यूयोर्क जाने छन् ।

    प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार र पार्टीको आगामी महाधिवेशनका बारेमा छलफल गर्न भन्दै आजै दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएका छन् । पदाधिकारी बैठकअघि मन्त्री बनाइएको भन्दै रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएको छ ।

    आफूहरुसँग छलफल नै नगरी देउवाले मन्त्री नियुक्तिमा एकलौटी गर्न खोजेको आरोप पौडेल समूहले लगाएको छ । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा पठाउन प्रतिनिधि नभएपछि प्रधानमन्त्रीले कांग्रेस नेता खड्कालाई परराष्ट्रमन्त्री बनाएको बताईएको छ ।

    मन्त्रिपरिषद्ले मंगलबार परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली टोली महासभामा पठाउने निर्णय गरेपछि मन्त्रीको टुंगो लागेको हो । प्रधानमन्त्री बनेको साढे दुई महिनापछि देउवाले एक मन्त्री थपेका हुन् , अझै १६ वटा मन्त्रालय प्रधानमन्त्री देउवाकै नेतृत्वमा छन् ।

4565