• इटहरी । सामाजिक सेवा, महिला नेतृत्व विकास र युवाको क्षमता अभिवृद्धिमा सक्रिय इटहरी लेडी जेसीजले आफ्नो २५औँ स्थापना दिवस विभिन्न रचनात्मक तथा सम्मानमूलक कार्यक्रमका साथ मनाएको छ। रजत वर्षको अवसर पारेर संस्थाले शिक्षा, पत्रकारिता, सामाजिक सेवा तथा संस्थागत विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई नगदसहित सम्मान गरेको छ।

    स्थापना दिवसका अवसरमा पत्रकारितामार्फत समाजमा सूचना प्रवाह र जनचेतना अभिवृद्धिमा योगदान पुर्‍याएको भन्दै सप्तकोशी टेलिभिजनका सञ्चालक तथा एभिन्युज खबर टेलिभिजनका इटहरी संवाददाता दीपक कार्कीलाई नगद ५ हजार ५ सय रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ। इटहरी क्षेत्रमा दुई दशकदेखि पत्रकारितामा सक्रिय कार्कीलाई उनको व्यावसायिक योगदानको कदर गर्दै सम्मान गरिएको हो।

    त्यसैगरी, एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी परिसा गुरागाईं र सुएश्री लुइँटेल तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने एकल महिला अम्बिका श्रेष्ठलाई समेत सम्मान गरिएको छ। संस्थाको स्थापना तथा विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने संस्थापक अध्यक्षहरू विनिता लम्साल, सञ्जु पौडेल र मीना भण्डारीलाई पनि सम्मान गरिएको थियो।

    इटहरी लेडी जेसीजकी अध्यक्ष यमुना बुढाथोकीको अध्यक्षता तथा उद्योग वाणिज्य संघ इटहरीका पूर्वअध्यक्ष भीमबहादुर पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पौडेलले जेसीजले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले नयाँ पुस्तामा खुसी, इमानदारी, सुशासन र सामाजिक सेवाको भावना विकास गर्न जेसीज अभियानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। समाज परिवर्तनका लागि युवाको सक्रियता र नेतृत्व विकास अपरिहार्य रहेको उनको भनाइ थियो।

    कार्यक्रममा इटहरी लेडी जेसीजले जुनियर जेसीजकी अध्यक्ष दिव्या दाहाललाई संस्थागत सहयोगस्वरूप पाँच हजार रुपैयाँ नगद हस्तान्तरण गरेको थियो। साथै, संस्थामा आबद्ध भएका नयाँ सदस्यहरूलाई पिन प्रदान गर्दै स्वागत गरिएको थियो।

    अध्यक्ष यमुना बुढाथोकीले स्थापनाकालदेखि नै संस्थाले महिला नेतृत्व विकास, सामाजिक सेवा, व्यक्तित्व विकास तथा युवाको क्षमता अभिवृद्धिका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताइन्। आगामी दिनमा पनि समाजका विभिन्न क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित संस्थाका गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने उनले प्रतिबद्धता व्यक्त गरिन्।

    कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष विदुर थापासहित पूर्वअध्यक्षहरू गीता श्रेष्ठ, अम्बिकादेवी श्रेष्ठ, लक्ष्मी बराल, सुमित्रा भट्टराई, गङ्गा कार्की र इन्दिरा काफ्लेलगायतको उपस्थिति थियो।

    इटहरी लेडी जेसीजकी कार्यकारिणी उपाध्यक्ष तारा दुलालको संयोजनमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव रुबिना थापाले गरेकी थिइन्। २५औँ स्थापना दिवसका अवसरमा आयोजित सम्मान कार्यक्रमले समाजमा सकारात्मक योगदान पुर्‍याउने व्यक्तित्वको कदर गर्नुका साथै नयाँ पुस्तालाई सामाजिक सेवा, जिम्मेवारी र नेतृत्व विकासतर्फ प्रेरित गरेको आयोजकले जनाएको छ।

4565