• इटहरी । धार्मिक आस्था, संस्कृतिको संरक्षण र गुरुकुल शिक्षाको संस्थागत विकासलाई एउटै अभियानमा जोड्दै इटहरीमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। महायज्ञबाट धार्मिक चेतना फैलाउनुका साथै निर्माणाधीन गुरुकुल भवनलाई पूर्णता दिने र आश्रमको संरचना विस्तार गर्ने लक्ष्य लिइएको छ।

    रामधुनी नगरपालिका वडा नम्बर ३ र ५ तथा इटहरी उपमहानगरपालिका वडा नम्बर १६ को संगमस्थल लायन्सचोकमा आगामी मंसिर १४ देखि २१ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ। महायज्ञको पूर्वसन्ध्यामा मंसिर १३ गते कलश शोभायात्रा निकालिने कार्यक्रम रहेको मूल आयोजक समारोह समितिले जनाएको छ।

    महायज्ञको आयोजनाबारे शुक्रबार लायन्सचोकस्थित कार्यक्रमस्थलमा पत्रकार सम्मेलन गर्दै आयोजकले धार्मिक अनुष्ठानसँगै सामाजिक र शैक्षिक उद्देश्यसमेत अघि सारेको जानकारी दिएको हो।

    नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगद्गुरु अनन्तश्रीविभूषित श्रीबालसन्त मोहनशरण देवाचार्य महाराजबाट श्रीमद्भागवत कथा वाचन हुनेछ। महायज्ञमार्फत धर्म र संस्कृतिप्रतिको आस्था अभिवृद्धि गर्ने, समाजमा सकारात्मक सोचको विकास गर्ने तथा आपसी सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाउने उद्देश्य राखिएको छ।

    आयोजकका अनुसार महायज्ञको मुख्य आकर्षणमध्ये गुरुकुलको भौतिक पूर्वाधार विस्तार पनि एक हो। गुरुकुलमा हाल करिब तीन सय विद्यार्थी अध्ययनरत छन्। उनीहरूको पठनपाठन र आवास व्यवस्थालाई थप व्यवस्थित बनाउन तीनतले भवन निर्माण भइरहेको छ। भक्तजन तथा विभिन्न दाताबाट हालसम्म करिब पौने चार करोड रुपैयाँ सहयोग प्राप्त भएको जगद्गुरुले जानकारी दिए।

    निर्माणाधीन भवनलाई पाँच तलासम्म विस्तार गरी आवश्यक शैक्षिक तथा आवासीय सुविधा थप गर्ने योजना रहेको छ। गुरुकुल सञ्चालनसँगै आश्रम निर्माणका लागि जग्गासमेत उपलब्ध भइसकेको छ। तर आर्थिक स्रोतको अभावमा आश्रम निर्माणको काम भने सुरु हुन सकेको छैन। महायज्ञबाट प्राप्त सहयोगले यी योजनालाई अघि बढाउन महत्वपूर्ण आधार तयार हुने अपेक्षा गरिएको छ।

    कार्यक्रममा इटहरी–१६ का वडाध्यक्ष तेजनारायण चौधरीले बराहक्षेत्र र चतराधामको धार्मिक महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउनुपर्ने बताए। भारतलगायत अन्य देशबाट धार्मिक पर्यटक भित्र्याउन सके यस क्षेत्रको पर्यटन विकाससँगै स्थानीय अर्थतन्त्रमा समेत टेवा पुग्ने उनको धारणा थियो।

    मूल आयोजक समारोह समितिका अध्यक्ष राजन तिम्सिनाले धार्मिक जागरणसँगै समाजमा शान्ति, सद्भाव र एकताको सन्देश फैलाउने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको बताए।

    आयोजकले महायज्ञमा देशभरका श्रद्धालु तथा भक्तजनलाई सहभागी हुन आह्वान गरेको छ। धार्मिक कार्यक्रमका माध्यमबाट गुरुकुल शिक्षाको संरक्षण, पूर्वाधार निर्माण र चतराधाम क्षेत्रको धार्मिक पहिचानलाई थप स्थापित गर्ने अभियानका रूपमा महायज्ञलाई हेरिएको छ।

4565