• इटहरी । इटहरीस्थित एमआरएस अस्पताललाई पहिलो चरणमा स्तरोन्नति गर्दै १०० शैयासम्म विस्तार गर्ने दीर्घकालीन लक्ष्यका साथ ९ दिवसीय मानव कल्याण आरोग्य ज्ञानमहायज्ञ तथा श्रीमद्भागवत कृष्णकथा भव्य रूपमा आरम्भ गरिएको छ। धार्मिक, सामाजिक तथा स्वास्थ्य सेवाको समन्वय गर्ने उद्देश्यले आयोजना गरिएको यस महायज्ञले इटहरी क्षेत्रलाई आध्यात्मिक र सेवामूलक गतिविधिको केन्द्रका रूपमा उभ्याउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।
    महायज्ञको उद्घाटन कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले गरेका हुन् ।
    उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री लिम्बुले श्रीकृष्ण प्रणामी प्रतिष्ठानले धर्मको संरक्षण मात्र नभई संस्कृति जगेर्ना, सामाजिक सेवा तथा धार्मिक पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउँदै आएको उल्लेख गरे ।
    उनले सेवा भावनाबाट सञ्चालित अस्पतालहरूले आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    कार्यक्रममा सहभागी कथावाचक सिक्किम सरकारका सल्लाहकार तथा गुरुङ समुदायका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त भागवत कथाकार रोहितराज महाराजजीले माघ २८ गतेसम्म नियमित रूपमा श्रीमद्भागवत कृष्णकथा वाचन गर्नेछन्। कथावाचनमार्फत धर्म, नैतिकता र मानव कल्याणका सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ ।
    मूल समारोह समितिका अध्यक्ष हेमप्रसाद घिमिरेले धार्मिक संस्थाबाट सञ्चालन हुने सेवा–मुखी अस्पतालमा विशेषज्ञ चिकित्सकमार्फत न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको बताए ।

    गुरुजी श्री १०८ मोहन प्रियाचार्यजी महाराजको संरक्षकत्वमा सञ्चालित एमआरएस अस्पतालमा प्रणामी समाज मात्र नभई सबै धर्मावलम्बीहरूले समान रूपमा स्वास्थ्य सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।

    अस्पतालमा सबै प्रकारका बिरामीको उपचारका साथै अत्याधुनिक प्रविधियुक्त ल्याब, एक्स–रे, भिडियो एक्स–रे लगायत सम्पूर्ण आवश्यक परीक्षण सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ। हेमप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय युवा सोशल अर्गनाइजेसनका संस्थापक विशाल प्रणामी क्षेत्रीलगायत भक्तजन तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।

4565