• इटहरी । श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपालले इटहरीमा सञ्चालनमा ल्याएको मंगल राधिका सदानन्द प्रणामी अस्पताल पुनः सञ्चालन गर्ने उद्देश्यसहित मानव कल्याण आरोग्य ज्ञानमहायज्ञ तथा श्रीमद्भागवत कृष्णकथा आयोजना गर्ने भएको छ ।
    मूल समारोह समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै महायज्ञ माघ १९ गतेदेखि २८ गतेसम्म इटहरीस्थित श्रीकृष्ण प्रणामी मन्दिर, मुक्तीधाम मा सञ्चालन हुने जनाएको हो। कार्यक्रमअन्तर्गत माघ १९ गते बिहान कलश शोभायात्रा निकालिनेछ भने माघ २० गतेदेखि २८ गतेसम्म श्रीमद्भागवत कृष्णकथा सञ्चालन गरिनेछ ।
    गुरुजी श्री १०८ मोहन प्रियाचार्यजी महाराजको संरक्षकत्वमा , सिक्किम सरकारका सल्लाहकार अन्तर्राष्ट्रिय भागवत कथाकार श्री रोहितराज महाराजजी द्वारा कथा बाचन गरिने छ ।
    धार्मिक, सामाजिक र स्वास्थ्य सेवाको संयोजनमार्फत समुदायलाई लाभ पु¥याउने उद्देश्यले परमहंस गुरुजी श्री १०८ मंगलदासजी महाराजको सत्संकल्पबाट स्थापना भएको प्रतिष्ठान विगतदेखि नै धार्मिक, सामाजिक, शैक्षिक तथा स्वास्थ्य सेवाका क्षेत्रमा सक्रिय रहँदै आएको छ ।
    प्रतिष्ठानले शिक्षा क्षेत्रमा विद्यालय, गुरुकुल, छात्रावास तथा संस्कृत विद्यापीठ सञ्चालन गर्दै आएको छ भने स्वास्थ्य क्षेत्रमा सर्वसुलभ र गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएको जनाएको छ ।

    इटहरी उपमहानगरपालिका र सुन्दरहरैंचा नगरपालिकाको सिमानामा अवस्थित बुढीगंगा (जमुना) मुक्तीधाम क्षेत्र धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । यही क्षेत्रमा १५ सैयाबाट सुरु गरिएको अस्पताल विविध प्राविधिक कारणले २०८२ भदौ ९ गतेदेखि अस्थायी रूपमा बन्द गर्नुपरेको थियो ।

    हाल सम्पूर्ण प्राविधिक समस्या समाधान भइसकेको र अस्पताल पुनः सञ्चालनका लागि तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ। महायज्ञपछि अस्पताललाई पहिलो चरणमा स्तरोन्नति गरी १०० सैया क्षमतासम्म विस्तार गर्ने लक्ष्य लिइएको मूल समारोह समितिका अध्यक्ष हेमप्रसाद घिमिरेले बताए।

    उनका अनुसार सनातन दर्शनको मूल मन्त्र ‘सेवा नै धर्म हो’ लाई आत्मसात् गर्दै इटहरी तथा आसपासका विपन्न र सर्वसाधारणलाई न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको पनी जनाए ।
    प्रतिष्ठानले भविष्यमा अस्पताललाई ५०० सैयासम्म विस्तार गरी कोशी प्रदेशकै नमुना स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना बनाएको छ ।

4565