• बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले निर्वाचन आचारसंहिता विपरीत बालबालिकालाई चुनावी प्रचार–प्रसारमा प्रयोग गरिएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ताका क्रममा तथा त्यसयता पनि विभिन्न स्थानमा बालबालिकालाई जुलुसमा सहभागी गराइएको, राजनीतिक दलका चुनाव चिह्न र उम्मेदवारको तस्वीर अंकित टिसर्ट लगाइ प्रयोग गरिएको, पार्टी तथा सम्पर्क कार्यालयमा विद्यालय पोशाकमै बालबालिकाको उपस्थित गराइएको तथा दलगत प्रचारका लागि झण्डा बोकाइ बालबालिकालाई प्रयोग गरिएको समाचार सार्वजनिक भइरहेका छन् । यस्ता गतिविधिहरू कानुन र आचारसंहिता दुवैको उल्लङ्घन भएको भन्दै अभियानले आपत्ति जनाएको हो ।

    सिजपले निर्वाचन आचारसंहिताको प्रभावकारी अनुगमन र उल्लङ्घनमा संलग्नलाई कडा कारबाही गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । अभियानका अध्यक्ष तिलोत्तम पौडेलले ‘बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन्’ भन्ने स्थापित मान्यतालाई चुनौती दिने गरी भइरहेका यस्ता गतिविधि तत्काल रोक्नुपर्नेमा जोड दिए । उनले राजनीतिक दल तथा उम्मेदवारहरूले अल्पकालीन राजनीतिक लाभका लागि बालबालिकालाई प्रयोग गर्नु गम्भीर आपत्तिजनक र गैरकानुनी भएको बताए ।

    बालबालिकासम्बन्धी ऐन, २०७५ तथा विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ ले बालबालिका र विद्यालयलाई राजनीतिक गतिविधिबाट टाढा राख्न स्पष्ट व्यवस्था गरेको स्मरण गराउँदै पौडेलले यस्ता क्रियाकलापले बालबालिकाको मनोभावनामा नकारात्मक असर पार्ने, उनीहरूको सुरक्षा जोखिममा पार्ने र विद्यालयको शैक्षिक वातावरणमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गरे । यसका अतिरिक्त, बाल्यकालमै राजनीतिक दबाब र विभाजनको वातावरणमा राखिनु बालबालिकाको दीर्घकालीन विकासका लागि घातक हुने उनको भनाइ छ ।

    सिजपले सबै राजनीतिक दल, उम्मेदवार, अभिभावक र सरोकारवाला निकायलाई जिम्मेवार व्यवहार गर्न, बालबालिकाको दलगत प्रयोग बन्द गर्न तथा बालबालिका र विद्यालयलाई वास्तविक शान्ति क्षेत्रका रूपमा संरक्षण र विकास गर्न आह्वान गरेको छ ।

4565