• धरान । धरान उपमहानगरपालिकाका मेयर र उपमेयरबीच फेरी पुनः विवाद चर्किएको छ । धरान १६ को सर्दुखोला नियन्त्रण कार्यमा भएको खर्चको भुक्तानीलाई लिएर नगर मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाबीच विवाद चर्किएको हो । सोमबार मेयर साम्पाङले आफ्नो कार्यकक्षमा बोलाएपछि पुगेका बेघालाई उनका सामर्थकले हातपात गर्न खोजेका थिए । मंगलबार भने बेघा पक्षधर उपमहानगर परिसरमा जम्मा भएर साम्पाङ पक्षको विरोध गरेका छन् ।

    श्रमदान मार्फत भएको कामका लागि साम्पाङका समर्थकले १५ जनाको डोर हाजिरी मार्फत १ लाख ४८ हजाार ५ रुपैयाँ भुक्तानीका लागि पेश गरेका थिए । सर्दु कटान रोक्न श्रमदान मार्फत १७ लाख ४० हजार बराबरको काम भएको साम्पाङ पक्षको दाबी छ । बहुभाषिक विद्यालय पश्चिम सर्दु रोकथाम समिति’ले १७ लाख ४० हजार बराबरको काम भएको दाबी गर्दै ९ लाख ९८ हजारको श्रमदान भएको र नगरपालिकाबाट ७ लाख ४१ हजार भुक्तानी मागदाबी छ ।

    धरानका मेयर प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईले उपभोक्ता समिति मार्फत भएको कामका विषयमा विवाद देखिएको बताए । विकास निर्माणको भुक्तानीका लागि उपमेयरले अनुगमन गरी प्रतिवेदन दिनुपर्छ । तर बेघाले यो कार्यको अनुमगन प्रतिवेदन दिन मानेका छैनन् । श्रमदान भन्दै समर्थकलाई डोर हाजिरीमा काम लगाएको भन्दै उनले प्रतिवेदन दिन नमानेका हुन् । अनुगमन गर्न नमानेपछि साम्पाङका समर्थकले बेघालाई हातपात गर्न खोजे । त्यसपछि सामाजिक सञ्जालमा बेघाविरुद्ध साम्पाङका समर्थकले आक्रोश पोखिरहेका छन् । मंगलबार भने बेघाका समर्थक कार्यालय परिसरमा भेला भएका छन् । कार्यालय परिसरमा भेला भएका बेघा समर्थकले मेयरको समूहले अमानवीय व्यवहार देखाएको दाबी गरेका छन् ।

    ‘उनका अनुसार मेयर साम्पाङका समर्थकले श्रमदानबाट भएको काममा पनि डोर हाजिरीको भुक्तानीका लागि पेस गरेका छन् । उपभोक्ता समिति मार्फत भएको काममा तारजाली र डोर हाजिरीको भुक्तानीको विषय भएकाले अनुगमन नगरेको बेघाले बताए । मेयर हर्क साम्पाङले भने उपमेयरले अनुगमन गरेर प्रतिवेदन आफैं राखेको दाबी गरे । १७ लाख रुपैयाँको काम श्रमदान मार्फत ७ लाखमा सकेको बताउँदै उनले भुक्तानीका लागि उपमेयरले अवरोध गरेको बताए । विपदको बेलामा हामीले गर्नुपर्ने काम फाल्टै खालको हुन्छ, काहीँ बस्ती बग्दैछ भने बैठक बोलाएर टेन्डर प्रक्रिया हालेर काम गरिँदैन, पहिला काम गरिन्छ, अनि सार्वजनिक हितको मूल्याङ्कन हुन्छ र भुक्तानी दिने परिपाटी छ,’ उनले भने,‘ तर विपदनका बेला गरेका काममा उहाँले अब्जेक्शन गर्नुभयो ।’

    धरानमा विपदका बेलामा गरेको विषयमा उपमेयरले अनावश्यक रुपमा अवरोध गरेको मेयर साम्पाङको भनाइ छ । ‘बस्ती जोगाउन हामीले इनिसिएटिभ लियौं, जालीहरू लगायौं, तर भुक्तानी दिने बेलामा खबरदार भन्दै मेयर प्रशासकीय अधिकृतलाई थर्काउने काम भइरहेको छ,’ उनले भने,‘‘ काम गर्नका लागि अप्ठेरोे बनाउने काममा उपमेयर लाग्नु भएको छ ।’ धरान १६ मा भएको कामका विषयमा वडाध्यक्ष सहभागी हुन नमानेपछि आफू पनि सहभागी भएर सार्वजनिक सुनुवाइ पनि गरेको उनले बताए । सार्वजनिक हितका लागि काम गर्दा श्रमदान नै गैरकानुनी हो भन्ने भाष्य सृजना गर्न खोजिएको उनको गुनासो छ ।

4565