• सत्तागठबन्धन दल राष्ट्रिय जनमोर्चाले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन अमेरिकाले समयसीमा तोकेर धम्की दिएको भन्दै भत्र्सना गरेको छ । अमेरिकी सरकारका सहायक विदेशमन्त्री डोनाल्ड लुले फागुन २६ गतेभित्र एमसीसी सम्झौता अनुमोदन नभए नेपालबारे अमेरिकी नीतिमा पुनर्विचार गर्ने तथा नेपाल चिनियाँ प्रभावमा गएको अर्थमा त्यसलाई बुझिने भनेर धम्की दिएकोमा जनमोर्चाले आपत्ति जनाएको हो ।

    जनमोर्चाले अमेरिकाले दिएको धम्कीका विरुद्ध उत्रिन सम्पूर्ण देशभक्त शक्तिहरूलाई अपिलसमेत गरेको छ । अमेरिकी सहायक विदेशमन्त्री लूले प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन नै गरेर एमसीसी पारित गर्नका लागि धम्की दिनु कूटनीतिक मर्यादा विपरित भएको पनि जनमोर्चाले जनाएको छ ।

    अमेरिकाको उक्त धम्कीबाट एमसीसी गलत छ र त्यो नेपालको सार्वभौमसत्ता तथा अखण्डताका विरुद्ध छ भन्ने कुरा थप पुष्टि भएको पनि जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अमेरिकाले नेपालमाथि लाद्न खोजेको एमसीसी परियोजना चीनका विरुद्ध रहेको पनि यो धम्कीबाट झन् प्रष्ट भएको जनमोर्चाले जनाएको छ ।

    कुनै पनि मुलुकले दिने सहायता, सहयोग वा अनुदान लिन वा नलिन नेपाल स्वतन्त्र रहेको उल्लेख गर्दै जनमोर्चाले विकास परियोजना लिन बाध्य पार्न वा धम्क्याउन नमिल्ने जिकिर समेत गरेको छ । एमसीसी परियोजना चीनलाई एक्ल्याउने उद्देश्यले अमेरिकाले चीनका विरुद्ध निर्माण गरेको हिन्द प्रशान्त सैन्य रणनीति अङ्ग भएको दाबी समेत जनमोर्चाले गरेको छ ।

4565