• प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफु नेतृत्वको सरकार बनेपछि मुलुक त्रासमुक्त बनेको दावी गर्नुभएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले एमाले नेतृत्वको सरकारका बेला डर त्रास रहेको र आफुले सरकारको नेतृत्व गरेपछि मुलुक त्रासमुक्त बनेको बताउनुभएको हो ।

    उहाले ओलीको शासनबाट जनताले मुक्ति पाएको भन्दै मुक्ति बचाउने हो कि नबचाउने भन्ने प्रश्न रहेको बताउनुभयो । देउवाले आफूलाई फेरि एकपटक जिताउन महाधिवेशन प्रतिनिधिलाई अनुरोध पनि गर्नुभयो । उहाले आफ्नो सरकारले निर्वाचन गराए तीनै तहमा कांग्रेसको सरकार बनाएर छाड्ने दावी गर्नुभयो ।

    त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकार अस्तव्यस्त र गतिहीन भएको आरोप लगाउनुभयो । नेता पौडेलले अहिले देशको परिस्थिति गम्भीर अवस्थामा पुगेको पनि तर्क गर्नुभयो । एक वर्षभित्र पार्टीले विरोधी शक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति रहेको भन्दै विरोधीसँग जुध्न सक्ने नेतृत्व चयन अहिलेको आवश्यकता रहेको उहाको भनाई छ ।

    पौडेलले पार्टीका कार्यकर्ताले नेतृत्वको मूल्यांकन गनुपर्ने बेला आएको धारणा राख्नुभयो । कांग्रेसको महाधिवेशन अन्तर्गत शनिबारबाट निर्वाचन प्रक्रिया सुरु हुने छ ।

4565