• नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश संरचनाको नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सातबटै प्रदेशमा बिहीबार अधिवेशन सुरु भएकोमा आज उम्मेदवारी दर्ता हुन लागेको हो । प्रदेश नेतृत्व चयनका लागि आज सातमध्ये छ प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

    प्रदेश दुईमा भने अधिवेशन पछि हुने बताइएको छ । प्रदेश दुईमा आजसम्म क्षेत्रीय अधिवेशन सक्ने र आइतबार अधिवेशन गर्ने तयारी छ । कांग्रेसले देशको संविधानअनुसार पहिलोपटक सातै प्रदेशको नेतृत्व चयन गर्न लागेको हो । कांग्रेसको प्रदेश तहमा पनि सभापति शेरबहादुर देउवा र इतर पक्ष प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा रहेको छ ।

    प्रदेश एकमा गुरुराज घिमिरे र उद्धव थापा प्रतिस्पर्धामा छन । प्रदेश दुईको सभापतिका लागि रामसरोज यादव, महेन्द्रराय यादव र कृष्ण यादव गरी अहिलेसम्म तीन जना आकांक्षी देखिएका छन् । बाग्मतीमा इन्द्र बानियाँ, जगदीशनरसिंह केसी र भीमसेनदास प्रधानले उम्मेदवारी घोषणा गरेका छन ।

    गण्डकीमा अर्जुन जोशी, देवराज चालिसे, पूर्वमन्त्री यज्ञबहादुर थापा, शुक्रराज शर्मा, र रघुनाथ पौडेलको नाम चर्चामा छ । लुम्बिनीमा भरतकुमार शाह र अमर पुनले उम्मेदवारी घोषणा गरेका हुन् । कर्णालीमा राजीवविक्रम शाह र भूपेन्द्रजंग शाही उम्मेदवार हुने तय भइसकेको छ । सुदरपश्चिममा रमेश लेखक र एनपी साउदबीच प्रतिस्पर्धा हुने भएको छ ।

4565