• नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरि उनले चितवनमा मंसीर १० देखि १२ गतेसम्म हुने पार्टीको १० औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    उनले देश, जनता र पार्टीको सामू भएका र आउनसक्ने चुनौतीहरुको सामना गर्न आफूले उम्मेद्वारीको घोषणा गरेको बताए । उपाध्यक्ष रावलले राजनीतिक जीवनको आरम्भदेखि आफूले उठाउँदै आएको पार्टीको विधि, पद्धति, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको बताए ।

    उपाध्यक्ष रावलले नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशन पार्टीलाई एकतावद्ध, सुसंगठित र समयका चुनौतिहरुको सामना गर्नसक्ने गरी क्रियाशील तुल्याउन महत्वपूर्ण रहेको बताएका छन् । उनले पार्टी अध्यक्ष केपी ओलीले नेतृत्वमै बसेर गुटबन्दी गर्दा पार्टी कमजोर भएर फुटमा परिणत भएको आरोप समेत लगाए ।

4565