• नेकपा माओवादी केन्द्रले बिहिबारसम्म पार्टीबाट मन्त्रीमण्डलमा सहभागी हुनेको नाम टुङ्गो लगाउने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले बिहीबारसम्म मन्त्रिपरिषद् बिस्तार हुने जानकारी दिएपछि माओवादीले मन्त्रीमण्डलमा सहभागी हुनेको नाम टुङ्गो लगाउन लागेको हो ।

    बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले मन्त्रिपरिषद विस्तार बिहीबार हुने र माओवादी तर्फबाट सरकारमा सहभागी हुनेको नाम पनि टुङ्गो लाग्ने जानकारी दिए ।
    बैठकमा अध्यक्ष दाहालले अध्यादेशका कारण मन्त्रीपरिषद् बिस्तारमा ढिलाई भएको पनि बताएका थिए । बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी भइरहेको पनि महराले जानकारी दिए ।

    बैठकले माओवादीको प्रवास समितिले बनाएको निर्देशिकालाई समेत अनुमोदन गरेको छ । निर्देशिकामा ६ वटा उपक्षेत्र बनाएर पार्टीले काम गर्ने उल्लेख गरिएको प्रवक्ता महराले जानकारी दिए । त्यस्तै बैठकले डोर प्रसाद पौडेललाई पार्टी कार्यालय सचिवमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

4565