• बागमती प्रदेशसभाको आठौँ अधिवेशन आज ९शुक्रबार० राति १२ बजेदेखि अन्त्य भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी मन्त्रिपरिषद्को सिफारिस भएर आए अनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले चालू प्रदेशसभाको बैठक अन्त्य गर्न सिफारिस गरेअनुसार प्रदेश प्रमुखले प्रदेशसभा बैठक शुक्रबार अन्त्य गरेका प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेशसभाको आठौं अधिवेशन बजेट अधिवेशनको रुपमा बैठक गत जेठ १६ गते देखि सञ्चालन भएको थियो । यो बैठक मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा बसेको दोस्रो मन्त्रिपरिषद्को बैठक हो ।

    प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेलले पद जोगाउन बारम्बार संसदलाई बन्धक गरेको भन्दै चर्को आलोचना गर्ने मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अहिले उनी पनि मुख्यमन्त्री पद जोगाउन कै लागि प्रदेश सभाको अधिवेशन अन्त्य गरेको बताइएको छ । मुख्यमन्त्री शाक्यको पद धरापमा भएकै कारण संसद अधिवेशन अन्त्य गरिएको नेकपा एकिकृत समाजवादीका एक सांसदले जानकारी दिए । नेकपा एमाले औपचारिक रुपमा केन्द्रमा विभाजन भईसकेपछि प्रदेशमा समेत विभाजन भएपछि मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्ने, नभए संसद चल्दा अविश्वासको प्रस्ताव आउने डरले शाक्यले वैठक स्थगित गरेकी हुन् ।

    मुख्यमन्त्रीको सपथ ग्रहण गरेको भोलीपल्ट संघीय राजधानी काठमाडौं पुगेकी शाक्य हेटौंडा आउने वित्तिकै मन्त्रीपरिषद्को वैठक बसेर यस्तो निर्णय गरेकी हुन् । तत्कालिन एमालेका वरिष्ठ नेता माधव नेपाल पक्ष धारको नेतृत्व गरेकी शाक्यले क्याम्प फेरेर एमालेबाट मुख्यमन्त्री बनेकी थिईन् । मुख्यमन्त्री बन्ने वित्तिकै शाक्य अहिले अल्पमतमा रहेकी छिन् ।

    सत्ताको लागि नै प्रदेश सभाको वैठक स्थगित गरिरहँदा बागमती प्रदेश सभा सदस्यहरुले नै विरोध गरेका छन् । विवेकशील साझाका प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठले संसदमा कानुन निर्माण, वर्तमान अवस्थामा प्रदेश भित्रमा देखिएका समस्याको विषयमा छलफल हुनुपर्नेमा सत्ता जोगाउने तर्फ लाग्नु गलत भएको बताए । यस्तै कांग्रेस संसदीय दलका सचिव निमा लामाले पनि संसदलाई बन्धक बनाउनु गलत भएको बताएका छन् ।

4565