• नेपाली कांग्रेसको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् । उनीहरुले क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न भदौ ७ गतेसम्मको समयसीमा दिएपनि नेतृत्वले माग सम्बोधन नगरेको भन्दै धर्ना सुरु गरेका हुन् । जिल्ला सभापतिहरुले आजदेखि सांकेतिक रुपमा एक घण्टामात्रै धर्ना दिने बताएका छन् । माग सम्बोधन नभए धर्ना जारी रहने बताए । क्रियाशील सदस्यता पारदर्शी नभएकाले आन्दोलनमा उत्रिनु परेको सभापतिहरुको भनाई छ ।

    जिल्ला सभापतिको धर्नालाई कांग्रसका केहि केन्द्रीय सदस्यहरुले समेत समर्थन जनाएका छन् । केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, गगन थापाले जिल्ला सभापतिहरुको धर्नामा सहभागि भएका थिए । केन्द्रीय सदस्यहरुले क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्दै देखिएका त्रुटिहरुलाई सच्चाउनुपर्ने बताएका थिए ।

    यसअघि जिल्ला सभापतिहरुले यही साउन ७ गतेभित्र क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, विधि विधान र मापदण्डअनुसार छानबिन गरी सदस्यता सूचीलाई अन्तिम रुप दिनु पर्ने र सबै जिल्ला सभापतिको निर्वाचन प्रक्रियामा एकरुपमा आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राखेका थिए । कांग्रेसले ९ लाख क्रियाशील सदस्य बनाएको छ । क्रियाशील सदस्यताबारे विवाद समाधान गरेर सोमबार बेलुकीमात्र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले सभापति शेरबहादुर देउवा र नेता पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेका थिए ।

4565