• आफ्नै विधान र संविधान विपरित हुनेगरि कांग्रेसले मंसिर ९ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने निर्णय ग¥यो । यो संगै क्रियाशील सदस्यताको विवाद भदौ २ गते टुंगो लगाउन ३ सदस्यीय समिति पनि गठन ग¥यो । तर क्रियाशील सदस्यताको विवाद यो समितिले टुंगो लगाउन नसक्दा फेरि पनि महाधिवेशन अनिश्चित हुने शंका बढ्न थालेको छ ।

    कांग्रेस केन्द्रीय समितिको बैठकले छानबिन समितिले पनि टुंगो लगाउन नसकेका क्रियाशील सदस्यताबारे सहमति जुटाउन पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा। मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मा दिएको छ । केन्द्रीय समितिको निर्णयमा तीन जना नेताहरुले क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनमा निर्णय गर्न बाँकी रहेका कार्य भदौ २ गतेभित्र टुंगो लगउने र ३ गते केन्द्रीय सभापतिलाई बुझाउने उल्लेख थियो । तर केन्द्रीय समितिले दिएको भदौ २ भित्र भने नेताहरुबीच सहमति जुट्न सकेको छैन । कांग्रेसले भदौ १८ गते वडा अधिवेशन गर्ने गरी महाधिवेशन कार्यतालिका ल्याएको छ । तर क्रियाशील सदस्यताको विवाद टुंगो नलाग्दा फेरि पनि महाधिवेशनको कार्यतालिका प्रभावित हुने शंका उत्पन्न हुन थालेको छ ।

    महाधिवेशन मंसिरसम्म सार्दा पार्टी विधान र संविधानले नदिएको अधिकार प्रयोग गरिएको भन्दै कांग्रेसभित्रै प्रश्न उठेको छ । महाधिवेशन मंसिरमा सार्दा विधान वा संविधानले दिएको कुन प्रावधान प्रयोग गरिएको भन्नेबारे कांग्रेस केन्द्रीय समितिको निर्णय पनि मौन छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १६ मा हरेक ५ वर्षमा राजनीति दलको प्रदेश र संघका पदाधिकारीको निर्वाचन हुनुपर्ने व्यवस्था छ । सोहि दफाको उपदफा २ मा ‘विशेष परिस्थिति उत्पन्न’ भएको अवस्थामा ५ वर्षमा महाधिवेशन हुन नसके ६ महिना थप्न सकिने व्यवस्था छ । ऐनको यही व्यवस्था अनुसारको पाँच वर्ष ६ महिनाको अवधि कांग्रेसका लागि भदौ २३ बाट सकिँदैछ ।

    कांग्रेसले पार्टीको बैधानिकता सकिने आसपासको मितिमा स्थानीय अधिवेशनको सुरुवात गरेर निर्वाचन आयोगलाई वैधानिकता जोगाउन आग्रह गर्ने तयारी गरेको छ । तर राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा प्रदेश र संघका पदाधिकारीको निर्वाचन गर्नुपर्ने स्पष्ट व्यवस्थाका कारण मंसिरमा महाधिवेशन तोक्ने कांग्रेसको निर्णयले आफैले हस्ताक्षर गरेर बनाएको संविधानलाई चुनौती दिएको छ । अझ मंसिरसम्म महाधिवेशन सारेको कांग्रेसले भदौ १८ का लागि तोकिएको वडा तहको अधिवेशन गर्न नसके बैधानिकता मात्र होइन कांग्रेस माथिको विश्वसनियता समेत प्रश्न उठ्ने देखिन्छ ।

4565