• प्रदेश नम्बर २ का नेपाली काँग्रेसका नेता, कार्यकर्ताहरुले पार्टीको क्रियाशील सदस्यता वितरणसम्बन्धि विवाद तत्काल समाधान गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएका छन । सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिँदै आएका काँग्रेसका धनुषा, सर्लाहीलगायतका नेता, कार्यकर्ताहरुले सोमबार एकपक्षीय ढंगले वितरण गरिएका क्रियाशील सदस्यता बदर नगरे पार्टी कार्यालयमा आमरण अनसन बस्ने चेतावनी समेत दिए ।

    पार्टीको विधानसम्मत ढंगले न्यायपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीको तत्काल छानवीन नभए आफूहरु आमरण अनसनमा बस्न बाध्य हुने काँग्रेस नेता अमरेश कुमार सिंहले चेतावनी दिए ।

    जिल्ला छानवीन समितिले केन्द्रलाई दिएको सुझावको आधारमा सो सदस्यता वितरण सम्बन्धि विवाद समाधान नगरे मान्य नहुने काँग्रेस केन्द्रिय सदस्य डाक्टर चन्द्रमोहन यादवले बताए । पार्टी केन्द्रले एक पक्षीय ढंगले क्रियाशील सदस्यता सम्बन्धि विवाद समाधान गर्न लागेकोमा समेत उनले आपत्ति जनाए ।

    नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी भाद्र १६–१९ गर्ने मिति तोकिएको छ । तर क्रियाशील सदस्यता वितरणमा नै धाँधली गरिएको भन्दै विरोधमा काँग्रेसका प्रदेश नम्बर २ का नेता, कार्यकर्ताहरु पार्टी कार्यालयमा अनसनमा बसेका छन । उनीहरुले जिल्ला छानवीन समितिले दिएको सुझावको आधारमा सो सदस्यता सम्बन्धि विवाद समाधान नगरे मान्य नहुने चेतावनी समेत दिएका छन ।।

4565