• नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलले पार्टी भित्रको विवादबारे विषयगत छलफल थालेको छ । मंगलबार सिंहदरबारमा बसेको कार्यदलको बैठक सकारात्मक ढंगले अघि बढेको नेताहरुले बताएका छन् । पार्टीभित्र देखिएको विवादको मुल विषयमा प्रवेश गरेर छलफल थालेको उनीहरुको भनाइ छ । मंगलवार विवादको मुल विषयमा केन्द्रीत भएर सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा छलफललाई निरन्तरता दिने सहमति भएको छ ।

    गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सहमति अनुसार १० सदस्यीय कार्यदल बनेको थियो । यहीँ बीचमा नेताहरूमाथि कारवाही प्रकृया सुरु भएपछि कार्यदल निश्कृय भएको थियो । तर गत आइतबार अध्यक्ष ओली र नेता भीम रावलबीचको भेटवार्तापछि कार्यदल व्युँत्याउने र कार्यदलमार्फत नै विवादको समाधान खोज्ने सहमतिपछि सोमबारबाट कार्यदल सक्रिय बनेको हो । मंगलवारको बैठकमा झण्डै साढे ३ घण्टा छलफल भएको थियो ।

    बैठकमा ओली समूहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री र प्रतिनिधिसभा विघटनको निर्णय विरुद्धमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेका थिए । नेपाल समूहले भने प्रतिनिधि सभा विघटनको निर्णय ओलीले फिर्ता लिनुपर्ने अडान राखेपछि सहमति जुट्न नसकेको हो । कार्यदलले दुवै नेताको अडान राजनीतिक प्रकृतिको मानेर सहमतिको प्रयास गर्ने बताइएको छ । बैठक बुधबार विहान साढे ८ बजे फेरि बस्नेछ ।

4565