• जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी आधिकारिकता दाबी गरेका छन् । शुक्रबार निर्वाचन आयोग पुगेका अध्यक्ष यादवसहित नेताले जसपाको वैधानिकता दाबी गरेका हुन् । बिहीबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णयसहित यादव पक्ष आज निर्वाचन आयोगमा पुगेका हुन् ।

    अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरू आयोगमै पुगेर हस्ताक्षरसहित आधिकारिकता दावी गरे । आयोगमा यादव पक्षका ३० जना कार्यकारिणी सदस्यहरूले हस्ताक्षरसहित निवेदन दिएका छन् । आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गरेपछि यादव पक्षले आधिकारिकता दावी गरेको हो ।

    यसअघि यादवले पार्टी आधिकारिकता दाबी गर्दै अर्का अध्यक्ष महन्थ ठाकुरलगायतलाई कारवाही गरेका थिए । साथै ठाकुरले पनि यादवलाई कारवाही गरेका थिए । दुबै पक्षले जसपा आधिकारिकता दाबी गरेका थिए । एकअर्कालाई गरेको कारवाही भने आयोगले कार्यान्वयन गर्न नसकिने जवाफ दिएको थियो । आयोगको उक्त जवाफबारे राजनीतिक र कानुनी लडाइँ लड्ने यादवले बताएका थिए । जसपाभित्र पछिल्लो समय अध्यक्षद्वय ठाकुर र यादवबीच बिबाद छ । ठाकुर पक्ष प्रधानमन्त्री केपी ओली सरकारमा सहभागि भएको छ भने यादव पक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छ ।

4565