• प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले मन्त्रिपरिषद समावेशी र समानुपातिक सिद्धात अनुसार नभएको भन्दै मुख्यमन्त्रीसमक्ष असन्तुष्टि जनाएका छन् । उनले मुख्यमन्त्री लालबाबु राउतलाई पत्र लेखी संविधानले परिकल्पना गरेको समानुपातिक समावेशीको व्यवस्था अनुसार नै मन्त्रिपरिषद गठन गर्नुपर्ने भन्दै केही दिनअघि गरिएको मन्त्रिपरिषद विस्तारमा आफ्नो असन्तुष्टि रहेको जनाएका हुन् ।

    प्रदेश प्रमुख झाले मन्त्रिपरिषदमा गैरमधेसी, मुस्लिम, दलित र महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व नभएको उल्लेख गरेका छन् । त्यस्तै मधेस आन्दोलनको शहीद परिवारको प्रतिनिधित्व पनि हुन नसकेको पनि उनले पत्रमा उल्लेख गरेका छन् ।

    उनले संविधानको धारा ४२ मा सामाजिक न्यायको हक रहेको स्मरण गराउँदै संविधानले गरेको समानुपातिक समावेशी व्यवस्था राज्यका हरेक निकाय र प्रक्रियामा अनिवार्य रुपमा अवलम्वन गर्नुपर्ने पत्रमा लेखेका छन् । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले हालै जसपाकै महन्थ ठाकुर पक्षका मन्त्रीलाई सरकारबाट हटाई नेपाली कांग्रेसबाट ३ जनालाई मन्त्री नियुक्त गरेका थिए । हाल ९ सदस्यीय मन्त्रिपरिषदमा हाल आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव मात्र महिला छिन् ।

4565