• प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(एमाले)ले फागुन २८ गतेपछि गरेका निर्णयहरु फिर्ता नहुने बताएकाछन् ।शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गतेपछि भएका पार्टीका निर्णयहरु फिर्ता नहुने बताएकाहुन ।

    चैत्र ५ गते र चैत्र ७ गतेको संसदीय दलको बैठकले गरेको निर्णयबाट पनि ब्याक हुन नसकिने उनको भनाई छ । उनले पार्टीको विधान केन्द्रीय कमिटीले अनुमोदन गरिसकेको भन्दै त्यसलाई परिवर्तन गर्न नसकिने स्पष्ट पारेको पनि नेकपा(एमाले)संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

    प्रधानमन्त्री ओलीले नेकपा(एमाले)मा कुनै गुट र समूह नरहेकोले समूहगत रुपमा कसैसँग डिलिङ नगर्ने बताएको पनि प्रमुख सचेतक भट्टराईले बताए । उनले भने ‘२८ गते भएका निर्णयहरु र त्यसपछि भएका संसदीय दलका बैठकहरु चैत्र ५ गते र चैत्र ७ गते भएको संसदीय दलको बैठकले गरेका निर्णयहरुबाट ब्याक हुन सकिदैनँ । बैठकमा केही साथीहरु अनुपस्थित हुनुभयो तर पार्टी विधिसम्मत् तरिकाले निर्णय गरेको कारणले गर्दा फिर्ता हुन सकिदैन भनेर भने ।

    दोस्रो कुरा, हामीले पारित गरेको विधान केन्द्रीय कमिटीले अनुमोदनसम्म गरिसकेको अवस्थामा अब यो विधान हाम्रो पार्टीको संसदीय दलको विधान हो । आवश्यक प¥यो भने समयक्रममा कालान्तरमा त्यसलाई संशोधन गर्न सकिन्छ । अपरिवर्तनिय र असंशोधनीय छैन तर अहिले नै यो विधानमा तलमाथि गर्न सकिदैन भन्ने कुरा पनि उनले प्रष्ट गरिसक्नुभएको छ भने । प्रधानमन्त्रीले हाम्रो पार्टीमा समुहगत वा गुटगत तरिकाले अब हामी कसैसँग डिलिङ गर्दैनौँ । नेकपा(एमाले)मा कुनै समुह वा गुटको अस्तित्व छैन । छ भने एउटै पार्टी छ । त्यो मात्रै हामी स्वीकार गर्छौ । व्यक्तिगत रुपमा प्रत्येकका आलोचनाहरु, प्रत्येकका गुनासाहरु, हरेक व्यक्तिका पार्टीप्रतिका आफ्ना भनाईहरु हामी हमेशा सुन्न तयार छौँ । तपाईहरु मुख्य सचेतकलाई भन्नुस् । दलको उपनेतालाई भन्नुस् । दलको नेतालाई भेटेसम्म भन्नुस् तर गुटगत हिसाबले र समुहगत हिसाबले कुनै पनि प्रकारको छलफल र कुराकानी नगरीने कुराको पनि उनले यो बैठकमा जानकारी गराउनुभएको छ ।’

    बैठकले आगामी दिनमा संसदीय दलको बैठक नियमित बस्ने र सांसदहरुको क्षमता अभिवृद्धिमा ध्यान दिने निर्णय गरेको पनि प्रमुख सचेतक भट्टराईले बताए । उनले भने ‘आजको बैठकले अर्को महत्वपूर्ण निर्णय के गरेको छ भन्दाखेरी अब हाम्रो संसदीय दलको बैठक नियमित बस्छ । सांसदहरुको क्षमता अभिवृद्धिमा ध्यान दिन्छौँ । सांसदहरुले संसदलाई प्रभावकारी बनाउनका लागि जनताका समस्याहरु संसदमा मुखरित गर्नका लागि र आफ्ना निर्वाचन क्षेत्र, आफ्ना जिल्लाका आवाजलाई संसदमा व्यवस्थित तरिकाले राख्नका लागि हामी तपाईहरुलाई सहजीकरण गर्छौ भनेर पनि प्रधानमन्त्रीज्यूले आजको बैठकमा भन्नुभएको छ ।’

    प्रधानमन्त्री ओलीले नेकपा एमालेका नेताद्धय माधवकुमार नेपाल र भीम रावलले बुझाएको स्पष्टिकरण नकारात्मक भएकाले कारबाहीको भागिदार रहेको बताएको पनि प्रमुख सचेतक भट्टराईले बताए ‘पार्टीमा विधान विपरित काम गर्ने र सडकमा बसेर पार्टी अध्यक्षलाई हटाउने । दलको नेता हटाउने सम्मको काम तपाईहरुले गर्नुभो हामीले त कम्तिमा त्यति त गरेनौँ नि त भन्दै प्रधानमन्त्रीले के भन्नुभयो भने दुई जनाको स्पष्टिकरण आएको छ । त्यो स्पष्टिकरण अत्यन्त नकारात्मक छ । त्यो कारबाहीको भागिदार छ । प्रधानमन्त्रीले भनेको शब्द त्यही नै हो । अरु बाँकी दुई जनाको त्यो कोणबाट नभइकन अत्यन्तै सकारात्मक कोणबाट र त्यो स्पष्टिकरणबाट चाहीँ पार्टीलाई एकढिक्का राख्न मद्दत पुगोस् । त्यस्ता आसयका साथ स्पष्टिकरण आउने अपेक्षा गर्दछु भनेर पनि प्रधानमन्त्रीले भन्नुभएकोछ त्यसकारण दुईवटा आएका स्पष्टिकरणहरु चाहीँ कारबाहीका भागिदार हुन्छन् भनेर उहाँले भन्नुभएको छ । कारबाही कुन प्रकृतिको हुन्छ भन्नेकुरा चाहिँ केन्द्रीय कमिटीको आधिकारीक बैठकले निर्णय गर्छ ।’

    नेकपा(एमाले) का नेता योगेश भट्टराईले पार्टी कमिटीहरु २०७५ साल जेठ २ गते अघिको पूर्ववत्ः अवस्थामा फर्काउनुपर्ने र त्यसका निम्ति प्रधानमन्त्री ओलीले पहलकदमी लिनुपर्ने धारणा राखेको बताए । उनले भने ‘फागुन २३ गतेको सर्वोच्च अदालतको निर्णयले हामीलाई पूर्ववत् पार्टीमा फर्काएको अवस्थामा पार्टीको संसदीय दल जसरी पूर्ववत् अवस्थामा अगाडि बढ्यो त्यसै गरीकन पार्टी केन्द्रीय कमिटी र पार्टी मातहतका सम्पूर्ण कमिटीहरु पनि २०७५ जेठ २ गतेको अवस्थामा फर्कौं र त्यहाँबाट नयाँ ढंगले पार्टीलाई एकतावद्ध बनाएर लैजाऔं यसमा मुलुकको प्रधानमन्त्री हुनुको नाताले र यो पार्टीको अध्यक्ष हुनुको नाताले तपाईले पहलकदमी लिनुहोस् । हिजोका कतिपय तितामिठा कुराहरुलाई विर्सौं । उत्तेजित भएर होइन संयम र धैर्यताका साथ अगाडि बढ्नु पर्छ । किनभने परिस्थिति निकै खतरा छ र निकै चुनौतिपूर्ण छ ।

    यो मुलुकले नेकपा एमालेको एकता खोजेको छ सिंगो बामपन्थीहरुको एकता खोजेको छ, सरकारको स्थायित्व खोजेको छ र जनमतको कदर गर्ने कुरा पनि खोजेको छ । त्यसकारण सर्वोच्च अदालतले जुन प्रतिनिधि सभाको पुनस्थापना गरेर मुलुकमा एउटा लोकतन्त्र र संविधानको रक्षा गरेको छ अब हामीले राजनीतिक स्थायित्व दिउँ, पार्टीको एकतालाई सुदृढ गर्रौं, जनताको अपेक्षालाई पुरा गरौं भन्ने कुरा हामीले प्रधानमन्त्री समक्ष राखेका छौं । प्रधानमन्त्रीजीले त्यसलाई गम्भिरताका साथ लिनुभएको छ । उहाँले आजलाई एउटा नयाँ घटनाको रुपमा पनि चित्रित गर्नुभयो । आज एउटा नयाँ घटना घट्यो अस्ति भाग लिन नआउनुभएको साथिहरुपनि आउनुभयो यसले एउटा नयाँ परिस्थिति निर्माण गरेको छ म सँधै खुल्ला छु छलफल गरौं भन्नेकुरा गर्नुभएको छ ।’

    बैठकमा नेकपा(एमाले) का नेता तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी बजेटका लागि सांसदहरुसँग फिडब्याक मागेको र आफ्नो क्षेको विकासलागि महत्वपूर्ण रहेको योजनाहरु विधिसम्मत् रुपले मन्त्रालयमा दिन आग्रह गरेकाथिए । नेताहरु झलनाथ खनाल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विस्टले पनि आ–आफ्नो धारणा राख्नुभएको प्रमुख सचेतक भट्टराईले जानकारी दिए ।

4565