• वरिष्ठ पत्रकार होमनाथ दाहाल महेन्द्रनारायण निधि राष्ट्रिय पुररुकार २०७६ बाट सम्मानित हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ पत्रकार होमनाथ दाहाललाई सितल निवासमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सम्मान गर्नुभएको हो । यस्तै डा. रामदयाल राकेश पनि महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ । सम्मानित हुनुहुने परिष्ठ पत्रकार दाहालले २०२१ सालबाट पत्रकारिता शुरु गर्नुभएको थियो । दाहालले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता सहित लोकतन्त्र बहालीका आन्दोलनमा पटकपटक जेल यातना समेत भोग्नुभएको थियो । सम्मानित दाहाल नेपाल पत्रकार महासंघको सभापति, गोरखापत्र संस्थानको अध्यक्ष तथा महाप्रवन्धक समेत भइसक्नुभएको छ । २०५६ मा ओखलढुंगाबाट प्रतिनिधि सभाको सांसदमा समेत विजयी हुनुभएको थियो ।यस्तै सम्मानित अर्का व्यक्ति डा. रामदयाल राकेश नेपालको लोकसंस्कृतिको विषयमा पोष्ट डक्टरल रिसर्च उपाधि पाउने पहिलो व्यक्ति हुनुहुन्छ । नेपाली लोक संस्कृति, मिथिला संस्कृति, र हिन्दी साहित्यमा डा. राकेशका दर्जनौं कृति प्रकाशित भएका छन् ।

    प्रतिष्ठानले प्रेमसागरी देवी निधि पुरस्कार २०७६ बाट काशीदेवी झा र गिरिराजकुमारी (ज्ञानु) प्रसाईंलाई सम्मान गरेको छ । सम्मानित हुने काशीदेवी झा सहिद दुर्गानन्द झा की धर्मपत्नी हुनुहुन्छ । स्वर्गीय दुर्गानन्द झाले २०१८ साल माघ ९ गते जनकपुर भ्रमणमा गएका राजा महेन्द्रमाथि बम प्रहार गर्नुभएको थियो । त्यस्तै सम्मानित हुनुहुने गिरिराजकुमारी (ज्ञानु) प्रसाईं समाजवादी नेता चिन्तक सिके प्रसाईं की धर्मपत्नी हुनुहुन्छ । नेपालमा लोकतान्त्रिक समाजवादका भाष्यकार विश्वेश्वर प्रसाद कोइरालाको अर्को रुपका रुपमा सिके प्रसाईलाई लिने गरिन्छ । सिके प्रसाईंको बौद्धिक सहयोगिको रुपमा सम्मानित हुनुहुने ज्ञानु प्रसाईंलाई लिने गरिन्छ । सम्मानित ज्ञानु प्रसाईंले सिके प्रसाईं चिन्तन प्रतिष्ठान स्थापना गरी नेपालमा लोकतान्त्रिक समाजवादको विचार आन्दोलनमा क्रियाशिल रहँदै आउनुभएको छ ।

4565