• काठमाडौं– काठमाडौं–सरकारमा सहभागी हुन तयार भएको संघीय समाजवादी फोरमले आफुले परराष्ट्र मन्त्रालयको माग नगरेको स्पष्ट पारेको छ । मंगलवारमात्रै फोरम नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने निर्णय लिएको थियो ।

    यसअघि फोरमले आफु सरकारमा सहभागी बन्दा परराष्ट्रसहित तीन मन्त्रालय मागेको समाचार बाहिर आएका थिए ।

    बामगठबन्धनसँगको वार्तामा आफुहरुले परराष्ट्र मन्त्रालय मागेको नभई बरु उनीहरुले लिन आग्रह गरेको फोरमको भनाई छ । तर, फोरमले परराष्ट्र मन्त्रालय आफ्नो लागि रोजाईको नभएको बताए ।

    फोरमका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले सत्तारुढ दलले आफुहरुलाई परराष्ट्र मन्त्रालय लिन आग्रह गरेको बताए ।

    उनले सत्तारुढको परराष्ट्र मन्त्रालयको प्रस्ताव अस्वीकार गरिसकेको भन्दै उक्त मन्त्रालयबाहेकका तीन मन्त्रालय पाउनुपर्ने अडान राखेको जनाए ।

    ‘हामीले परराष्ट्र बाहेकका तीन मन्त्रालय मागेका हौँ, तर फोरमले परराष्ट्र माग्यो भनेर समाचार आइरन्छन्, तर बास्तविकता त्यस्तो होइन’ नेता श्रेष्ठले रातोपाटीसँग भने ।

    फोरम उपाध्यक्ष श्रेष्ठका अनुसार अहिलेसम्मको सहमतिमा सत्तारुढ दल फोरमलाई तीन मन्त्रालय दिन तयार भएका छन् ।

    कुनकुन मन्त्रालय भन्नेबारे भने छलफल हुनै बाँकी छ ।

    तर, राजपा पनि सरकारमा जाने अवस्था आए फोरमले पाउने मन्त्रालय दुईवटा मात्रै हुनेछन् ।

    पछिल्लो पटक प्रधानमन्त्री ओलीले राजपालाई समेत सरकारमा ल्याउने पहल थालेका छन् । त्यसका लागि ओलीले राजपा नेताहरुसँग पनि छलफल गरिसकेका छन् ।

    फोरमले समेत राजपालाई समेत सरकारमा ल्याउन सत्तारुढलाई आग्रह गरेको नेता श्रेष्ठले बताए ।

     

4565