• बाँके प्रहरीले ४३ ग्राम ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके, वडा प्रहरी कार्यालय नेपालगन्ज र लागु औषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट खटिएको संयुक्त टोलीले नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरबाट ४३ ग्राम १ सय ५० मिलिग्राम ब्राउन सुगर सहित ३ जनालाई नियन्त्रणमा लिएको हो ।

    नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुर स्थित दिब्या खड्काको घर भाडामा लिई बस्दै आएका भारत उत्तर प्रदेश जिल्ला बहराईच घर भएका बर्ष २८ का मुस्तकिम सिद्धिकी, बर्ष २८ का मोहम्मद सलमान खान र नेपालगन्ज उपमहानगरपालिका ११ टाँगा स्टेशन घर भएका बर्ष २२ का आजाद कवडियाले लागु औषध ब्राउन सुगरको खरिद बिक्रि कारोवार गर्दैछन् भन्ने सूचनाको आधारमा संयुक्त टोलिले नियन्त्रणमा लिएको छ ।

    पक्राउ परेका मोहम्मद सलमान खानले दिल्ली क्राईम नेशनल न्यूज पेपर लेखेको प्रेस कार्ड, डिजिटल तराजु र तिनै जनाले प्रयोग गर्ने ३ थान मोवाईल समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक डिएसपी मधुसुदन न्यौपानेले बताए । उनले पक्राउ परेका मुस्तकिम सिद्धिकीले नेपालगन्जको एकलैनी स्थित सुन पसलमा काम गर्दै आएको र उनले मोहम्मद सलमान खान संग मिलेर भारतबाट लागुऔषध ब्राउन सुगर ल्याउने र नेपालबाट आजाद कवडियाले बिक्रि गर्ने गरेको बताए ।

    पक्राउ परेका तिन जना मध्ये सलमान खानले दिल्ली क्राईम नेशनल न्यूज पेपर लेखेको प्रेस कार्डकै आधारमा लागुऔषधको कारोवार गर्ने गरेको प्रहरी नायब उपरिक्षक न्यौपानेले बताए । उनले पक्राउ परेका तिनै जनालाई नेपालको प्रचलित कानून अनुसारको सजाय समेत हुने बताए ।

    बाँके प्रहरी र लागु औषध नियन्त्रण ब्यूरो नेपालगन्जको संयुक्त प्रयासबाट गत असार १३ गते देखि नयाँ प्रहरी उपरिक्षक एसपी आएदेखि हाल सम्म ९४ ग्राम ब्राउन सुगर, २ लिटर ६ सय मिलिलिटर कोरेक्स र ३ सय ३० ट्याब्लेट नाईट्रोजेपाम बरामद गरि १९ जनालाई नियन्त्रणमा लिई आवश्यक कार्वाही अगाडी बढाईसकेको छ ।

4565