• इटहरी । संसारभर छरिएर रहेका गौतम बन्धुबीच एकता, भ्रातृत्व र आपसी सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेश समन्वय समितिको प्रथम प्रदेशस्तरीय भेला तथा अधिवेशन इटहरीमा सम्पन्न भएको छ।
    अधिवेशनले धनकुटाका मित्रबहादुर गौतमको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो।
    इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित अधिवेशनबाट उपाध्यक्षमा इटहरीका रमेशकुमार गौतम, सचिवमा धनकुटाका दीपेन्द्र गौतम र कोषाध्यक्षमा इटहरीकी बुधमाया ‘गंगा’ गौतम चयन भएका छन्। सदस्यहरूमा लेटाङका घनश्याम गौतम, खेमप्रसाद गौतम, जयनन्द गौतम, युवराज गौतम लगायत २० सदस्य रहेका छन्।
    निर्वाचन समितिका अध्यक्षमा बासु गौतम तथा सदस्यमा भीमप्रसाद गौतम र सुमित गौतम रहेका थिए। उनीहरूको समन्वयमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको हो। प्रथम अधिवेशनले यसअघि गठन भएको तदर्थ समितिलाई पूर्णता दिएको आयोजकले जनाएको छ।
    अधिवेशन उद्घाटन कार्यक्रम समाजका वरिष्ठ केन्द्रीय उपाध्यक्ष लेखनाथ गौतमको अध्यक्षता तथा कोशी प्रदेशका स्वास्थ्य राज्यमन्त्री उमाकान्त गौतमको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा विभिन्न जिल्लाबाट सहभागी गौतम बन्धुहरूले आपसी एकता, सामाजिक सहकार्य र भावी पुस्तालाई जोड्ने अभियानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

    सो अवसरमा गौतम परिवारका ८० देखि ९३ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो। सम्मान गर्ने क्रममा ९३ वर्षीय लक्ष्मीबहादुर गौतम, ९१ वर्षीय यज्ञप्रसाद गौतम र ८४ वर्षीय नूतनदेव गौतमसहित विभिन्न जिल्लाका १७ जना ज्येष्ठ नागरिकलाई सम्मानपत्र द्धारा सम्मान गरिएको थियो।
    नवनिर्वाचित अध्यक्ष मित्रबहादुर गौतमले समाजलाई थप व्यवस्थित र सक्रिय बनाउँदै गौतम बन्धुबीचको सम्बन्धलाई प्रदेश हुँदै राष्ट्रियस्तरसम्म मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।
    उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राज्यमन्त्री उमाकान्त गौतमले सामाजिक एकता र पारिवारिक सम्बन्ध विस्तारमा यस्ता कार्यक्रमको भूमिका महत्वपूर्ण हुने बताए।
    कार्यक्रममा नवनिर्वाचित कोषाध्यक्ष तथा लोकदोहोरी गायिका गंगा गौतम आचार्यले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दै कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएकी थिइन्।
    भेला कार्यक्रममा गौतम बन्धु राष्ट्रिय समाजका केन्द्रिय कोषाध्यक्ष प्रकाशमणी गौतम, सुनसरीका जिल्ला अध्यक्ष राजु गौतम, मोरगं जिल्ला अध्यक्ष खेम गौतम लगायत सुनसरी, मोरङ, धनकुटा र झापालगायत जिल्लाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

4565