• धादिङ । भादौ १० गते आएको विनसकारी बाढीले विस्थापित परिवारका लागी हमदिया संघ नेपालले धादिङका बाढीपीडित तथा विस्थापित परिवारलाई राहत सामग्री वितरण गरेको छ।
    विनाशकारी बाढी तथा पहिरोका कारण प्रभावित बनेका परिवारलाई सबैलाई माया गरौँ, कसैलाई घृणा नगरौँ” भन्ने मानवीय सन्देशसहित अतत्काल राहत उपलब्ध गराउने उद्देश्यले संघले धादिङको गल्छी र गजुरी क्षेत्रमा ७० घरपरिवारलाई दैनिक उपभोग्य खाद्यान्न सामग्री वितरण गरेको हो। पीडित परिवारलाई चामल, चिउरा, चिनी, दाल, तेल, मसला लगायतका अत्यावश्यक सामग्री प्रदान गरिएको थियो।
    अहमदिया संघ नेपालका राष्ट्रिय अध्यक्ष कमरुल होदा अन्सारीको अध्यक्षता तथा ह्युमानिटी फस्र्ट इन्टरनेसनलका प्रतिनिधिमण्डलका संयोजक अजहर अहमद खादिमको प्रमुख आतिथ्यमा राहत वितरण कार्यक्रम सम्पन्न भएको हो।
    कार्यक्रममा राष्ट्रिय अध्यक्ष अन्सारीले विपद्का कारण विस्थापित तथा प्रभावित परिवारको पीडामा केही भए पनि मलम लगाउने उद्देश्यले संघले प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर स्थानीयको अवस्था बुझेपछि राहत अभियान सञ्चालन गरेको बताए। उनका अनुसार धादिङका विभिन्न प्रभावित क्षेत्रमा पुगेर २०० घरपरिवारलाई राहत वितरण गर्ने लक्ष्य राखिएको छ। सोही लक्ष्यअनुसार पहिलो चरणमा गल्छी र गजुरीका ७० परिवारलाई राहत उपलब्ध गराइएको हो।
    अहमदिया संघ नेपालले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६ लाख रुपैयाँ सहयोग समेत गरेको छ। संघले उक्त रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको जनाएको छ।

    राहत वितरण अभियानमा भारतको कादियानबाट आएको ह्युमानिटी फस्र्ट इन्टरनेसनलको पाँच सदस्यीय टोलीले समेत महत्वपूर्ण सहयोग गरेको थियो। टोलीले संघका प्रतिनिधि तथा स्थानीयस्तरका व्यक्तिसँग समन्वय गर्दै राहत सामग्री वितरणमा सहजीकरण गरेको थियो।
    राहत वितरण कार्यक्रममा अहमदिया मुस्लिम जमात नेपालका राष्ट्रिय अध्यक्ष मोहन मोइन अहमद राउत, संघीय सांसद आशिका तामाङ, दारुल अमान कादियानलगायतको सहभागिता रहेको थियो।
    विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारको आवश्यकतालाई नजिकबाट बुझ्दै घरदैलोमै पुगेर राहत उपलब्ध गराउने अभियानले मानवीय सेवा, सहकार्य र सामाजिक सद्भावको सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छ। संघले आगामी दिनमा पनि प्रभावित क्षेत्रको अवस्थाअनुसार राहत तथा सहयोगलाई निरन्तरता दिने जनाएको छ।

4565