-
भिरालो जमिन र पाखोबारी मात्रै रहेको म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीको राखु गाउँ केही वर्षअघि सम्म अनुत्पादक जग्गा भएको सुक्खा गाउँका रुपमा चिनिन्थ्यो तर विगत एक दशकयता राखु गाउँको चिनारी फेरिएको छ । यहाँका गाउँलेले त्यही पाखोबारी मात्र भएको भिरालो जग्गालाई खनीखोस्री गरेर मलजल दिई सुन्तला खेती गरेपछि अहिले सोही गाउँका किसानहरुले आफ्नै गाउँमा बसेर वार्षिक करोडौँ रुपैयाँ कमाउन सफल भएका छन् ।
News Desk 0 response बुधबार, चैत्र २, २०७८“पहिला छ्या १ बाँदर पनि नअडिने अनकन्टार ठाउँ भनेर नाक खुम्च्याउनेहरु अहिले आहा १ कति हराभरा गाउँ भनेर प्रशंसा गर्न थालेका छन्”, वडा सदस्यसमेत रहुनभएकी सुन्तला कृषक मनकुमारी पुनले भन्नुभयो, “यस वर्ष सुन्तला बिक्री गरेर हामीले गाउँमा रु डेढ करोडभन्दा बढी भित्र्यायौँ, अब यो अनकन्टार भनिएको पाखोमा सुन्तलाका बोटमार्फत पैसा फल्न थालेको छ ।” आफुले पनि यस वर्ष सुन्तला बिक्री गरेर रु २१ लाख आम्दानी गरेको उहाँ बताउनुहुन्छ । विगत एक दशकदेखि नर्सरी स्थापना गरी सुन्तलाका बिरुवा उत्पादन गर्दै आउनुभएकी पुनले सुन्तलाको दाना र बिरुवा बेचेर रहरलाग्दो आम्दानी गर्न सफल भएको बताउनुभयो । उहाँले मात्रै होइन तल्लो र माथिल्लो भेकमा विभाजित राखुमा रहेका ६५ घरधुरीले न्यूनतम रु २० हजारदेखि अधिकतम रु २१ लाखसम्मको सुन्तला बिक्री गरी गाउँमा रु डेढ करोडभन्दा बढी रकम भित्र्याउन सफल भएका हुन् । पुनसँगै राखुमा कुलबहादुर गर्बुजा, जशिकला रोका, भीमकुमारी घर्ती, खिरमती राना र कृष्णबहादुर पुन धेरै सुन्तला बिक्री गर्ने कृषकमा पर्नुहुन्छ । परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका यहाँका किसान पछिल्लो समय सुन्तला खेतीतर्फ आकर्षित भएका बेनी–३ का वडाध्यक्ष पदम पुन बताउनुहुन्छ । राखुपछि सबैभन्दा धेरै मरेक गाउँका २१ जना कृषकले बगैँचाबाटै सुन्तला बेचेर रु ३२ लाखको सुन्तला बजारमा गएको स्थानीय अगुवा कृषक इन्द्रबहादुर थापाले जानकारी दिनुभयो । त्यसैगरी हल्लेगौडा, पानीस्वाँरा, ज्यामिरे र चिनखेत क्षेत्रबाट यस वर्ष करिब रु २८ लाखको सुन्तला बजारमा गएको स्थानीय युवा कृषक होम रोका मगरले बताउनुभयो । सुन्तला खेतीले कृषकको जीवनस्तरमा समेत परिवर्तन आएपछि गाउँभरि नै सुन्तलाका बिरुवा रोपिएको कृषकको भनाइ छ । दश वर्षदेखि पुरानो खाद्यबाली नलगाई व्यावसायिक रुपमा सुन्तलाजातका फलफूल खेतीमा आकर्षित भकिम्लीवासीले हरेक वर्ष उत्पादनमा वृद्धि गरेका छन् । “अबको केही वर्षमा परम्परागतरूपमा कोदो र मकै लगाउने सबै बारीमा सुन्तला फल्ने छ, सुन्तला खरिद गर्न व्यापारी घरघरमै आउने भएकाले सुन्तला खेतीमै सबैको आकर्षण बढेको छ”, वडाध्यक्ष पुनले भन्नुभयो । यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनाएको जनाउँदै उहाँले अबको आधा दशकमा अनुकूल मौसम भएमा तेब्बर उत्पादन हुने कृषकहरुको अनुमान रहेको बताउनुभयो । केही कृषकले परीक्षणका लागि सुन्तलाका बिरुवा रोपेको र राम्रो उत्पादन हुन थालेपछि भकिम्लीका अन्य बस्तीमा समेत सुन्तला खेतीको लहर चलेको छ । रोग पत्ता नलागेका कारण समस्यामा परेका कृषकले निरन्तर तालिम तथा विभिन्न औषधि प्रयोग गरेपछि यस वर्ष उत्पादनमा सुधार आएको छ । “सिङ्गो वडा नै सुन्तला खेतीमा आकर्षित भएको छ, अनुदानमा समेत प्रोत्साहन गरिरहेका छौँ”, वडाध्यक्ष पुनले भन्नुभयो । हरेक वर्ष नयाँ बिरुवा वितरण, कृषि ज्ञान केन्द्रसहित विभिन्न निकायबाट समेत प्रोत्साहनका साथै कृषक आफ्नै अगुवाइमा समेत सुन्तलाको खेती विस्तारमा सक्रिय रहेको उहाँले बताउनुभयो । सुन्तलाका दाना राम्रा, रसिला र मीठा भएकाले पनि ठूला ट्रक लिएर व्यापारी टाढाटाढाबाट गाउँमा आउन थालेपछि सडक मर्मतसम्भारमा समेत बर्सेनि लाखौँ खर्च हुने गरेको छ । भकिम्लीका सबै सुन्तला खेती हुने गाउँमा सडक सञ्जाल पुगेको छ । म्याग्दीको समुन्द्री सतहबाट एक हजार २०० देखि एक हजार ६०० मिटरको उचाइसम्म सुन्तला खेती हुने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । पछिल्लो समय विदेश गएर फर्किएका युवा कृषक समूह निर्माण गरी व्यावसायिक कृषि, फलफूलतर्फ आकर्षित हुँदै गएकाले उत्पादन बढेको अधिकृत पाण्डेको भनाइ छ । जिल्लाका ६ वटै स्थानीय तहको ३५५ हेक्टर जमिनमा सुन्तला खेती भइरहेकामा यस वर्ष दुई हजार १८० मेट्रिक टन सुन्तला उत्पादन हुन्छ । जिल्लामा वार्षिक रु १७ करोड हाराहारीमा सुन्तला बिक्री हुने अनुमान गरिएको कृषि केन्द्रले जनाएको छ ।
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





