• स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मृगौला र क्यान्सरजस्ता रोगहरुको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके मुलुकले ठूलो संकट सामना गर्नुपर्ने बताएका छन् ।

    संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा राज्यमन्त्री श्रेष्ठले मृगौला फेर्नका लागि पनि २ वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको बताए । उनले नेपालमा प्रत्येक वर्ष ३ हजार मानिसको मृगौलाले काम नगरेको विवरण आइरको भन्दै पाँच वटा मात्रै उपचार गर्ने अस्पतालले धान्न समस्या परेको बताए ।

    उनले मृगौला रोगीका लागि डाइलाईसिस गर्न आवश्यक्ता अनुसारको सेवा केन्द्र नपुगेको भन्दै सरकारले थोरैमा दुईसय देखि तीनसय वटा डाएलाईसिस बनाउनुपर्ने योजना बनाएको पनि जानकारी दिए ।

    राज्यमन्त्री श्रेष्ठले अहिलेसम्म नेपाललाई १ करोड ७७ लाख कोरोना विरुद्धको खोप प्राप्त भएको बताए । उनले ३ करोड ५९ लाख खोप आउने प्रबन्ध मिलाएको र आउने क्रममा रहेको बताए । अहिलेसम्म ५६ लाख मानिसलाई पूर्ण खोप लगाइसकेको र ६२ लाख मानिसलाई पहिलो डोज लगाएको बताए । राज्यमन्त्री श्रेष्ठले जम्मा जनसंख्याको १८ प्रतिशत भन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाइसकेको दाबी गरे । उनले दशैँसम्म पहिलो डोज लगाउनेको संख्या १ करोड पुग्ने बताए ।

    समितिले डाएलाईसिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बैठकले डाएलाईसिस मेसिन थप गर्ने योजना तत्काल कार्यान्वयनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

4565