• इटहरी । इटहरीमा बालमैत्री न्याय प्रणालीसम्बन्धी सरोकारवालाको भूमिका विषयक कार्यशाला सम्पन्न भएको छ। बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार तथा अनलाइन माध्यमबाट हुने यौन दुर्व्यवहारका घटना न्यूनीकरण गर्दै बालमैत्री न्याय प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो।
    इटहरीस्थित इनटुरिष्ट प्यालेसमा आयोजित कार्यक्रम भ्वाइस अफ चिल्ड्रेन इटहरीको आयोजना, सुनसरी जिल्ला अदालतको सहकार्य तथा केएनएच जर्मनीको सहयोगमा संचालन हुदै आएको कार्यशालामा बाल न्याय प्रणालीमा संलग्न विभिन्न निकायका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो।
    भ्वाइस अफ चिल्ड्रेनका प्रमुख भरत थापाको अध्यक्षता तथा सुनसरी जिल्ला अदालतका न्यायाधीश कुमार मास्केको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा थापाले कार्यशालाको उद्देश्यबारे जानकारी गराउँदै बालबालिकासँग सम्बन्धित विषयमा संस्थाले विभिन्न समयमा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गर्दै आएको बताजनकारी गराएका थिए । विशेषगरी अनलाइन माध्यमबाट हुने बाल यौन दुर्व्यवहारका घटनाबारे सचेतना अभिवृद्धि र रोकथामका लागि सहकार्य आवश्यक रहेको थापाको भनाइ थियो।
    कार्यक्रममा प्रमुख अतिथि न्यायाधीश मास्केले बाल इजलासको अवस्था, बाल न्याय प्रणाली, यससँग सम्बन्धित नीति, नियम तथा अभ्यास र पछिल्लो अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए । उनले बालबालिकासम्बन्धी न्यायिक प्रक्रियालाई थप बालमैत्री बनाउन सम्बन्धित सबै निकायबीच समन्वय आवश्यक रहेको बताए ।
    त्यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायब निरीक्षक नारायण अधिकारीले ‘अनलाइन बाल यौन दुर्व्यवहार, हालको अवस्था, तथ्यांक तथा चुनौती’ विषयमा प्रस्तुतीकरण गरेका थिए ।
    उनले प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिकामाथि अनलाइन माध्यमबाट हुन सक्ने जोखिम र त्यसबाट जोगाउन अपनाउनुपर्ने सावधानीबारे जानकारी जानकारी गराएका थिए ।
    कार्यशालामा सुनसरीका १२ वटै पालिकाका बालकल्याण अधिकारी, बाल हेल्पलाइन, बालबालिका खोजतलास केन्द्रका प्रतिनिधि, सरकारी वकिल, श्रेस्तेदार, प्रहरीलगायत करिब ३५ जना सरोकारवालाको सहभागिता रहेको थियो।
    भ्वाइस अफ चिल्ड्रेनका परियोजना सहायक प्रकाश परियारले सञ्चालन गरेको कार्यक्रममा सुनसरी जिल्ला अदालतका श्रेस्तेदार टिकेन्द्रजंग राना, भ्वाइस अफ चिल्ड्रेनकी कार्यक्रम अधिकृत पूजा भण्डारीलगायतको सहभागिता रहेको थियो।

4565