• इटहरी । सुनसरीको इटहरी–९ स्थित नेपाल डिभिएम ग्लोबल एकेडेमीले अभिभावक दिवस, सांस्कृतिक कार्यक्रम तथा वृहत् शैक्षिक प्रदर्शनी विविध आकर्षक कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
    विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रमले विद्यार्थीको प्रतिभा, सिर्जनशीलता र व्यवहारिक ज्ञानलाई उजागर गरेको थियो ।
    कार्यक्रममा पीजीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले विभिन्न जातजातिका भेषभूषामा सजिएर नृत्य, गायन तथा फेसन शो प्रस्तुत गरेको थियो ।
    सास्कृतिक कार्यक्रमको संयोजन नृत्य निर्देशक तुलसी घिमिरेले गरेका थिए ।

    विविध सांस्कृतिक झलकले कार्यक्रममा विशेष रौनक थपेको थियो भने अभिभावकहरू समेत उत्साहित देखिन्थे ।
    यसैगरी, विद्यार्थीहरूले तयार पारेका विज्ञान तथा शैक्षिक सामग्रीहरूको प्रदर्शनीले सबैको ध्यान आकर्षित गर्यो । साथै, खाजाका स्टलहरू सञ्चालन गरी बिक्री–वितरण गर्दै विद्यार्थीहरूले व्यवहारिक व्यवसायिक सीप समेत प्रदर्शन गरेका थिए ।
    विद्यालयले अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीलाई सानैदेखि प्रविधिमैत्री र व्यवसायिक,ब्यवहारिक बनाउन यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

    कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य डा. बेणुप्रसाद सिटालाले पाठ्यपुस्तकमा सीमित ज्ञान मात्र पर्याप्त नहुने बताउँदै वेद, संस्कार, भाषा, शैली र व्यवहारमा आधारित जीवनोपयोगी शिक्षामा विद्यालयले जोड दिएको उल्लेख गरे ।
    उनले प्राविधिक शिक्षा, रोबोटिक्स, संगीत तथा डिजिटल कक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने योजना रहेको जानकारी दिए ।
    सो अवसरमा जेहेन्दार पूर्व विद्यार्थी श्रीयसी भट्टराईलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।

    साथै, उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक क्षितिज दाहाल, सिन्धिया राई, पानस चौलागाईं तथा कर्मचारी प्रमिला कार्की, सह–चालक बलबहादुर कोइराला र चालक चिरञ्जीवी माझीलाई नगद सहित सम्मान गरिएको थियो।
    नेपाल वैदिक मिसन ग्लोबल एकेडेमी सञ्चालक समिति अध्यक्ष धुर्बकुमार सुब्बाको अध्यक्षता तथा समाजसेवी विश्वप्रसाद रिजालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा इटहरी–३ का वडा अध्यक्ष उमेश सुवेदी, विद्यालयका सञ्चालक, अभिभावक तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

4565