• खोटाङ । खोटाङको कपिलासगढी गाउँपालिका–२ खार्तम्छा बालाबेँसी क्षेत्रमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका एकजनालाई उपचारका लागि काठमाडौं लगिएको छ।

    जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार दुर्घटनापछि अर्को हेलिकप्टरमार्फत घाइते काजीबहादुर राई र पाइलटलाई काठमाडौं पठाइएको हो। गम्भीर अवस्थाका राईको काठमाडौंमा उपचार भइरहेको जनाइएको छ।

    स्थानीय स्रोतका अनुसार काठमाडौंमा निधन भएकी मनलसी राईको अन्त्येष्टि व्यवस्थापनका लागि श्रीमान्, छोरा र चर्चका पास्टरसहितको टोली हेलिकप्टरमार्फत खोटाङ आएको थियो। मृतकको शव भने भोलि मात्रै ल्याइने तयारी गरिएको छ।

    कपिलासगढी गाउँपालिका–२ का वडाध्यक्ष मिलन राईले अवतरणका क्रममा हेलिकप्टर अनियन्त्रित भई दुर्घटना भएको जानकारी दिए। उनका अनुसार बारीमा अवतरण गर्ने क्रममा समस्या आएपछि हेलिकप्टर दुर्घटनामा परेको हो।

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार ‘९ एन–एएफक्यू’ कलसाइन भएको उक्त हेलिकप्टर बिहान ११:५१ बजे दुर्घटनामा परेको हो। हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ बजे उडेको थियो र त्यसमा पाइलटसहित ६ जना सवार रहेका थिए।

    दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

4565