• बिहिबार रातिदेखि पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले देशभरको मौसममा परिवर्तन आएको छ । मौसममा परिवर्तन आएसँगै देशका अधिकांश ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।

    मौसममा परिवर्तन आएसँगै देशभर चिसो बढेको छ । शनिबारसम्म मौसम प्रभावित हुने भएको छ । बिहीबार साँझदेखि नै देशका अधिकांश ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको थियो । काठमाडौं उपत्यकामा पनि बिहीबार साँझदेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौंमा आज बिहान पनि मध्यम वर्षा भएको थियो । देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार काठमाडौं लगायत देशका अधिकांश स्थानमा शनिबार दिउँसोबाट मौसममा समान्य सुधार आउने छ । यद्यपी दुईदिनसम्म पानी परेकाले चिसो बढ्ने क्रम भने आउँदो आइतबारसम्म कायम रहने छ ।

    बिहीबार रातिदेखि देशभर सामान्यदेखि पूर्ण बदली भएको थियो । यो क्रम शनिबार दिउँसोसम्म कायम रहने बताइएको छ । धेरै स्थानहरुमा मेघ गर्जन, चटयाङ, असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

    शुक्रबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहने देखिन्छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन, चटयाङ, असिना हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हिमपात र वर्षाको सम्भावना कायमै छ । काठमाण्डौ उपत्यका र देशका धेरै ठाउँमा शनिबार दिउँसोसम्म पानी पर्ने र रोकिने क्रम चलिरहनेछ ।

4565