• सरकारले चितवनको भरतपुरमा शिक्षक अस्पताल बनाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरपालिकाको वडा नम्बर १५ को भगवानपुरमा शिक्षक अस्पताल बनाउने प्रस्ताव स्वीकृत गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल चितवनको भरतपुर, मकवानपुरको चित्लाङ र भक्तपुरको सुर्यविनायकमध्ये एक ठाउँमा बनाउन उपयुक्त हुने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेका थिए ।

    यसैगरी मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६ रुपैयाँ ०४ पैसा कायम गरेको छ । यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा थियो । यसैगरी सोमबारको मन्त्रिपरिषद्को बैठकले खुला विश्वविद्यायको उपकुलपतिमा प्राध्यापक डा. शिलु मानन्धर बज्राचार्यलाई नियुक्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदी संयोजकत्वको सिफारिस समितिले बज्रचार्यसहित प्राडा मनप्रसाद वाग्ले र प्राडा इन्द्रबहादुर कार्कीको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो ।

    नवनियुक्त उपकुलपति बज्राचार्य यसअघि खुला विश्वविद्यालयको व्यवस्थापन तथा कानुन संकायको डिन थिइन् । उनी शंकरदेव क्याम्पसको पूर्वप्रमुखसमेत हुन् । यसैगरी मन्त्रिपरिषद्को बैठकले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीरजंग शाहलाई नियुक्त गरेको छ ।

4565